एमसीसी : पाँच दलीय गठबन्धनमा पाँचथरी धारणा, आज निस्केला त निकास?

एमसीसी : पाँच दलीय गठबन्धनमा पाँचथरी धारणा, आज निस्केला त निकास?

केन्द्रबिन्दु
0
Shares

अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा सत्तारुढ पाँच दलीय गठबन्धनमा पाँचवटा धारणा देखा परेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गरेको गठबन्धनमा एमसीसी बिना सर्त पारित गर्ने, एमसीसी टेबल गर्न दिने तर संशाेधन बिना अनुमोदन नगर्ने, एमसीसी टेबल गरिए सरकारबाट बाहिरिनेलगायतका धारणा निर्माण भएका छन्।

यसैगरी, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले जे निर्णय लिए, त्यसै अनुसार निर्णयमा पुग्ने र एमसीसीका बिषयमा चरणबद्ध आन्दोलनलाई निरन्तरता राख्नेसहित पाँचवटा धारणा देखा परेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गरेको नेपाली कांग्रेस बिना सर्त एमसीसी संसदमा टेबल गरेर अनुमोदन गराउने पक्षमा उभिएको छ।

गत साता सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय अनुसार सरकारको नेतृत्वकर्ता कांग्रेस १६ फागुनभित्र एमसीसी अनुमोदन गराउने पक्षमा स्पष्ट देखिएको छ।

‘गठबन्धन टुटे टुटोस् तर एमसीसी पारित गराउने पक्षमा कांग्रेस छ,’ गठबन्धन बैठकमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले पार्टी धारणा सार्वजनिक गर्दै आएका छन्। त्यसका लागि सत्तारुढ गठबन्धनसँग यसअघि दुईपटक घनिभूत छलफल गरेको कांग्रेसले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग पनि सहयोगको आग्रह गरेको अवस्थामा पुनः आज पाँच दलीय गठबन्धनको बैठक आब्हान गरेको छ।

यसअघि एमसीसीका बारेमा ‘हार्डलाइनर’ को रुपमा देखा परेको नेकपा (एस) शनिवारको स्थायी कमिटी बैठकपछि भने केही हदमा लचिलो भएको छ। नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार एमसीसीलाई संघीय संसदमा बिना अबरोध टेबल गर्न दिने तर संशाेधन बिना अनुमोदन भने नगराउने पक्षमा स्थायी कमिटीले निर्णय लिएको जानकारी गराईसकेका छन्।

‘एमसीसीलाई संसदीय प्रक्रिया अघि बढाउन टेबल गर्न दिने पक्षमा नेकपा एसले निर्णय गरेको छ,’ प्रवक्ता खतिवडाले भने, ‘तर, बिना संशाेधन एमसीसी अनुमोदन गराउने पक्षमा पार्टी भने रहेको छैन।’ उनका अनुसार सम्झौताको संसोधन भएपछि मात्रै एमसीसी अनुमोदन हुने नेकपा (एस)को बटमलाइन कायमै छ।

नेकपा माओवादी केन्द्रले एमसीसीलाई ‘जर्वजस्ती’ टेबुल गरिएमा सरकारवाट बाहिरिने चेतावनी दिइसकेको छ। गत साता सम्पन्न माओवादी संसदीय दलको बैठकले गरेको निर्णय प्रधानमन्त्री देउवालाई अध्यक्ष प्रचण्डले जानकारीसमेत गराइसकेका छन्। ‘एमसीसी टेबुल गरिए माओवादी गठबन्धन सरकारवाट बाहिरिन्छ, यो हामीलाई मान्य हुन्न,’ प्रमुख  सचेतक देवप्रसाद गुरुङले पार्टीको औपचारिक निर्णय यसअघि नै सुनाई सकेका छन्। जुन निर्णयबाट माओवादी पछि हटेको अझैसम्म सार्वजनिक भएको छैन, यद्यपी प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा भने आज सहभागी हुँदैछ।  

उता, तराई मधेस केन्द्रित जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) भने माओवादी केन्द्र र नेकपा (एस)ले गर्ने निर्णयका आधारमा एमसीसीका पक्ष वा बिपक्षमा उभिने निष्कर्षसहित गठबन्धनको बैठकमा सहभागी भइरहेको छ। ‘माओवादी र नेकपा (एस)ले जे निर्णयमा पुग्छन्, हामी त्यसै आधारमा निर्णय लिनेछौं,’ जसपाका नेता मोहम्मद इस्तियाक राइले टिप्पणी गरे, ‘हामी अझै पनि गठबन्धनमा एकमत होस् भन्नेमा प्रतिक्षारत छौं।’ माओवादी र नेकपा (एस)को निर्णय अनुसार पार्टी निर्णय हुने भन्दै जसपा नेपालले जस/अपजसको भारी गठबन्धन सँगसँगै बोक्ने निष्कर्षसहित धारणा सार्वजनिक गरिरहेको छ।

उता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चा भने गठबन्धन छाडेर एमसीसीको बिरोधमा सडक आन्दोलनमा होम्मिएको छ। ‘खसी देखाएर फर्सी खुवाउन लागेको’ भन्दै असन्तुष्ट जनमोर्चा मोहन बैद्य, नेत्रविक्रम चन्दलगायत ६ साना बामपन्थी दलसँग मिलेर सडक आन्दोलनमा होमिएको छ। साना बामपन्थी दलसँग कार्यगत एकता गरेर सडक आन्दोलनमा होमिएको जनमोर्चा गठबन्धनका पछिल्ला बैठकहरुमा अनुपस्थित हुँदै आएको छ।

प्रधानमन्त्री देउवाले आज १० बजेका लागि बोलाइएको बैठकपछि एमसीसीका कारण गठबन्धनको भविश्य के हुने ? भन्ने सम्मका टिकाटिप्पणी राजनीतिक बिश्लेषकहरुले गरिरहेका छन्।न्युज कारखाना 

Skip This
Skip This
Logo