प्रतिनिधिसभा बैठकमा आजबाट सुरु हुने भनिएको अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सैद्धान्तिक छलफल कुन प्रक्रियामार्फत टुंग्याउने हो? त्यसको छिनोफानो हुने भएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले ध्वनीमतको प्रक्रियामामार्फत सैद्धान्तिक छलफल चलाउँछन् कि मत विभाजनमार्फत गर्छन् भन्ने विषयका छिनोफानो आज अपरान्ह बस्ने संसद् बैठकले छिनोफानो गर्न लागेको हो।
सभामुख सापकोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार मत विभाजनको प्रक्रियामार्फत सैद्धान्तिक छलफलमा लैजान खोजेको आशंकामा सरकारले बिहीबारको संसद् स्थगित गराएपछि सो विषयलाई महत्वका साथ हेरिएको छ। मत विभाजनमा प्रक्रियामा लगेर सभामुखले एमसीसीलाई सैद्धान्तिक बहसअघि नै असफल बनाउन लागेको आशंका गरेपछि सरकारले अचानक आग्रह गरेर बिहीबारको बैठक स्थगित गराउनु परेको सार्वजनिक भएको थियो।
सो योजनाको बारेमा गृहमन्त्री बालकृष्ण खाणले सभामुख सापकोटालाई भेटेर आपत्ति मात्रै जनाएनन्, सभामुख सापकोटाले आफ्नो पदीय भूमिका भुल्न नहुनेसम्मको टिप्पणी गरेका छन्। जसकारण, एमसीसीमा विवादमा पर्दै आएका सभामुख सापकोटा बिहीबारदेखि थप विवाद र आशंकाको घेरामा पर्न गएका छन्। माओवादी केन्द्रका २८ जना सांसद उभिएर मत विभाजनको माग गर्ने र सभामुखले नियमतः सो अनुमति दिने योजनाको चाल पाएपछि सरकारले संसद् बैठक स्थगित गर्नुपरेको वालुवाटार स्रोतले जनाउँदै आएको छ।
सो योजना सार्वजनिक भएपछि सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने सैद्धान्तिक छलफल गराउनका लागि मत विभाजन गर्ने प्रचलन नेपालमा नभएको टिप्पणी गरेका छन्।
‘२०४७ सालदेखि हामी संसदीय व्यवस्थाको अभ्यास गरिरहेका छौं, आजसम्म सैद्धान्तिक छलफल चलाउनका लागि मत विभाजन गरिएको उदाहरण छैन, मलाई लाग्छ सभामुखले यो काम गर्नु हुन्न,’ कार्कीले वालुवाटारमा बिहीबार साँझ टिप्पणी गरेका थिए, ‘यदि सैद्धान्तिक छलफलमा नै मत विभाजन गर्न थालियो भने कुनै पनि सरकारले काम गर्न सक्दैन, संसद् नै अप्ठयारो अवस्थावाट सधैंभरी गुज्रन्छ, यो काम गर्नु हुन्न ।’ सभामुख सापकोटाले एमसीसीको सैद्धान्तिक छलफलमा मत विभाजनमार्फत प्रक्रिया अघि नबढाउनेमा सरकार विश्वस्त रहेको प्रवक्ता कार्कीको भनाइ छ।





























प्रतिक्रिया