सत्तारुढ दल नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौंता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा अध्यक्ष नेपालले नेकपा एमालेले एमसीसीमा आफ्नो पार्टीको सहयोग चाहिए सभामुख अग्निप्रसाद सापकोटा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदहरुलाई बर्खास्त गर्नुपर्ने शर्त राखेकोमा दुःख व्यक्त ग्े ।
अध्यक्ष नेपालले नेकपा एमालेले एमसीसीको बारेमा स्पष्ट धारणा नराखेर अहिलेसम्म न पोथी न भालेको चाल देखाइरहेको बताए । उनले प्रधानमन्त्री देउवालाई हतारमा निर्णय नलिन र एमसीसीका केही प्रावधानहरु नसच्याएसम्म आफूहरु विपक्षमा रहने स्पष्ट पारे ।
अध्यक्ष नेपालले, ‘अनेकौँ जटिलताहरु देखा परेका छन् । मैले सूचना पाएसम्म बिरुद्धमा मूभ गर्ने, त्यस्तो पनि कोशिस भइरहेको छ । त्यो पनि शर्त राखेर मात्रै । त्यो पनि कुनै शर्त होइन, हाम्रा पार्टीका कार्यकर्ता, नेताहरुलाई सांसदबाट बर्खास्त गर्नुपर्ने, सभामुखलाई बर्खास्त गर्नुपर्ने, महाअभियोग लगाउनु पर्ने यस्ता शर्त राखेर त्यसपछि मात्रै एमसीसीमा समर्थन गर्ने भन्ने कुराको प्रश्ताव केपी ओलीबाट आएको भन्ने कुराहरु छन् । यसले हामीलाई पनि चिन्तित बनाएको छ ।’
उनले थपे ‘मुख्य कुरा के हो भने केपी ओलीले एमसीसीलाई समर्थन गर्ने । तर समर्थन गर्छु पनि नभन्ने, समर्थन पनि नगर्ने । न भाले न पोथीको चाल देखाइरहनु भएको छ । हामीले एमसीसी प्रोजेक्टमा कतिपय कुराहरुलाई मिलाउनु पर्नेछ । नेपाल इण्डो प्यासिफक इस्टाटेजीको अंग बन्न चाहँदैन । कुनै सैन्य रणनीतिमा, कसैको सुरक्षा रणनीति अन्तर्गत नेपाललाई पार्न दिने पक्षमा छैनौँ । नेपालको भूमिलाई छिमेकी मुलुकहरुको बिरुद्धमा प्रयोग हुने कुनै पनि आशंका नरहने कुराको प्रत्याभूति चाहन्छौँ । नेपालको असंलग्न परराष्ट्रनीतिमा हामी तटस्थ रहन चाहन्छौँ ।’
‘नेपालको भूमिमा ट्रान्समिशन लाइन बन्छ भने र बाटो बन्छ भने त्यसमा नेपालको अधिकार नै रहन्छ । रोजगारीमा नेपालीको अधिकार कायम रहनुपर्छ । लेखा परीक्षणको अधिकारमा नेपालको अधिकार रहनुपर्छ । त्यसमा नेपालको संविधानको सर्वोच्चता हुनुपर्छ । यी सबै कुराको स्पष्टता नभएसम्म स्वभाविक रुपमा यथास्थितिमा हामी एमसीसी पास गर्ने पक्षमा छैनौँ ।’ उनले देउवालाई हतारमा निर्णय नलिन र केपी ओलीसँग अनैतिक सम्झौता नगर्न समेत समेत सुझाए ।





























प्रतिक्रिया