मुलुकको राजनीति अहिले एमसीसीकै वरिपरि घुमिरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा संसदबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गराउन लागिरहेका छन्।
जसरी भएपनि एमसीसी पारित गराउन लागेका प्रधानमन्त्री देउवालाई सत्ता गठबन्धनकै दलहरू माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले साथ नदिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग देउवाले भेटघाट बढाएका छन्। यसै सन्दर्भमा बिहीबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ नेपाली कांग्रेस र नेकपाका एमाले नेताहरूबीच भएको छलफल सकारात्मक भएको खबर बाहिरिएपछि शुक्रबार सत्तारुढ दलका नेताहरूले भेटघाट बाक्लो बनाए।
माओवादी र समाजवादीका नेताहरू कांग्रेस र एमालेबीच सहमति रोक्ने र सत्ता गठबन्धन जोगाउने प्रयत्नमा केन्द्रित भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रधानमन्त्री देउवासँग भेटेर गठबन्धन जोगाउने सन्दर्भमा छलफल गरेका छन्। त्यस्तै नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर एमसीसी पास गर्ने नाममा एमालेसँग अनैतिक सम्झौता नगर्न भन्दै ध्यानाकर्षण गराएका छन्। त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि भेटवार्ता गरेका छन्।
एमालेको यस्तो रणनीति
एमसीसी पारित गर्ने सम्बन्धमा सत्ता गठबन्धनमा फाटो आएपछि प्रधानमन्त्री देउवा अप्ठ्यारोमा परेका छन्। यसै सन्दर्भमा उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग छलफल पनि बढाएका छन्। सोही सन्दर्भमा शुक्रबार कांग्रेस र एमालेबीच सहमति भएको भन्ने कुरा बाहिरिएपछि माओवादी र नेकपा एसले एमालेसँग सम्झौता रोक्न प्रयत्न गरेको देखिन्छ। एमालेले भने शर्तसहितको सहमति गर्ने संकेत देखाएको छ। एमालेले पार्टी छाडेर अर्को पार्टी खोलेका १४ सांसदलाई कारबाही र सभामुखलाई निष्काशन लगायतका शर्तहरू राखेको छ।
एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउनसक्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमसीसी सम्झौतालाई नेपालले अस्वीकार गर्दा अमेरिका रिसाएको खण्डमा आर्थिक रुपमा जोखिम र संकट पैदा हुनसक्ने उनले बताए। अमेरिकाको सहयोग अस्वीकार गर्दा अन्य शक्ति राष्ट्रहरुले पनि नेपाललाई आर्थिक सहयोग गर्न हिच्किचाउने उपाध्यक्ष पाण्डेको भनाइ थियो।
नेपालमा धेरै रेमिट्यान्स भित्रिने मुलुकहरुसँग अमेरिकाको निकट सम्बन्ध रहेको भन्दै उनले ती मुलुकहरुसँग अमेरिकाले नेपालबारे असहमति राखेको खण्डमा संकटमा फस्न सकिने तर्क गरे। देशको अन्तर्राष्ट्रिय सम्बन्ध र अर्थतन्त्रको सम्बन्धमा गम्भिर हुनुपर्ने उनले बताए।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले राखेका शर्तहरू कार्यान्वयन भएमात्र कांग्रेससँग सहकार्य हुने बताए । ‘हामीले देशका प्रमुख राजनीतिक दलहरूबीच कांग्रेस एमालेबीच यो सिस्टम जोगाउनका निम्ती मिनिमम अण्ड स्ट्याण्डिङ हुनुपर्छ भन्दै आएका हौं’, नेता ज्ञवालीले भने, ‘शुरुमा कांग्रेस सकारात्मक थिएन तर अहिले कांग्रेस अप्ठ्यारोमा परेपछि हाम्रो छलफल चलिरहेको छ। छलफल ठिकै ढङ्गले अगाडि बढिरहेको छ। तर मूर्त आकार लिइरहेको छैन।’
अहिले छलफल सकारात्मकरुपमा अगाडि बढेको तर निष्कर्षमा भने नपुगेको नेता ज्ञवालीले बताए। ‘सदन खोल्नका लागि अनुशासन उल्लंघन गर्ने १४ जना सांसदहरूको कारबाहीको सूचना टाँसिनु पर्छ। यसो नगर्ने सभामुखले स्किप डाउन गर्नुपर्छ’, ज्ञवालीले भने, ‘त्यसो भयो भने हामी संसदमा गएर छलफल गर्न पाउँछौं। हाम्रो यो भनाइ यथावत छ। यसमा कांग्रेस सकारात्मक देखिएको छ। तर परिणाम नआउञ्जेल म यकिन भन्न सक्दिनँ।’
त्यस्तै नेकपा एमालेका नेता विष्णु रिजालले पाँच दलीय गठबन्धन रहँदासम्म प्रधानमन्त्री शेरबहादुर देउवासँग आफ्नो पार्टीले कुनै सहकार्य नगर्ने बताए। ‘एउटा कुरा स्पष्ट छ–गठबन्धन रहेसम्म पाँच दलीय गठबन्धनको नेताका रूपमा शेरबहादुर देउवासँग नेकपा एमाले कुनै सहकार्य गर्दैन र गठबन्धन सरकारले सदनमा ल्याएका हरेक प्रस्तावका विरुद्धमा दृढतापूर्वक उभिन्छ’, उनले भने।





























प्रतिक्रिया