एमसीसी अनुमाेदनकाे विरोधमा विप्लवसहित ६ दलद्वारा संघर्षका कार्यक्रम घोषणा

एमसीसी अनुमाेदनकाे विरोधमा विप्लवसहित ६ दलद्वारा संघर्षका कार्यक्रम घोषणा

केन्द्रबिन्दु
0
Shares

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी पारित भएको विरोधमा संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन्। वाम पार्टीहरुले फागुन २० गते काठमाडौँमा विशाल प्रदर्शनसहित विरोधसभा गर्ने निर्णय गरेका छन्।

मङ्गलबार अपराह्न संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै वामपार्टीहरुले फागुन १५ गतेलाई कालो दिन घोषणा गर्दै शेरबहादुर देउवा सरकार, नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूले नेपाली जनताको विरोध, प्रतिवाद र देशव्यापी खारेजी आन्दोलनविरुद्ध राष्ट्रघाती, जनघाती र अमेरिकी साम्राज्यवादसँग आत्मसमर्पणवादी कुकार्य गरेको निष्कर्ष पनि निकालेको जनाएका छन्। 

संयुक्त प्रेस विज्ञप्ति जारी गर्नेहरूमा नेकपाका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुती रहेका छन् ।  यो देश र नेपाली जनतका विरुद्ध गरिएको अक्षम्य अपराध साबित भएको र घोर राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट पारित हुँदै गर्दा नेकपा (एमाले) ले त्यसका विरुद्ध सङ्घर्ष गर्नुको सट्टा बेल घेराउको बहानामा सम्झौता पारित गर्न सघाउ पुर्‍याउने कार्य गरि नेपाली जनता र राष्ट्रप्रति अन्तरघात गरेको ठहर पनि गरेका छन्।

यस्तो छ कार्यक्रम :
१) फागुन २० गते काठमाडौँ उपत्यकामा विशाल विरोध प्रदर्शन र संयुक्त विरोधसभा
२) फागुन २२ गते बुद्धिजीवीहरूको अन्तर्क्रिया
३) फागुन २४ गते ८ मार्च भव्य रूपमा मनाउन देशव्यापी विरोध प्रदर्शन र सभा
४) फागुन २६ गते विद्यार्थीहरूको देशव्यापी क्याम्पस र विद्यालयहरूमा विरोध प्रदर्शन र सभा
५) फागुन २८ गते युवकहरूको देशव्यापी विरोध प्रदर्शन र सभा
६) फागुन ३० गते मजदुरहरूको देशव्यापी विरोध प्रदर्शन र सभा
७) चैत २ गते किसानहरूको देशव्यापी विरोध प्रदर्शन र सभा
८) चैत ४ गते श्रमिक, दलित समुदाय मोर्चाको देशव्यापी विरोध प्रदर्शन र सभा
९) चैत ६ गते राष्ट्रिय मुक्ति (जातीय/क्षेत्रीय) मोर्चाहरूको देशव्यापी विरोध प्रदर्शन र सभा ।

फाइल फाेटाे

Skip This
Skip This
Logo