प्रतिनिधिसभालाई पूर्ण कार्यकाल चलाउनु पर्छ : दिलेन्द्रप्रसाद बडु

प्रतिनिधिसभालाई पूर्ण कार्यकाल चलाउनु पर्छ : दिलेन्द्रप्रसाद बडु


कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रतिनिधिसभालाई पूर्ण कार्यकाल चलाउनुपर्ने बताएका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकपछि कुरा गर्दै मन्त्री बडुले संसदलाई जनताप्रति जवाफदेहि बनाएर पूर्ण कार्यकाल चलाउनुपर्ने बताएका हुन् । 

संसदको गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गरिरहेको उल्लेख गर्दै उनले सो आग्रहलाई एमालेले पनि गम्भिरतापूर्वक लिएको बताए । 

सर्वोच्च अदालतले पनि संसद पूर्ण कार्यकाल चलाउनुपर्ने फैसला गरेको स्मरण गराउखै मन्त्री बडुले अर्लि इलेक्शनको कुरा कुनै एजेण्डा र प्रस्तावको रुपमा नआएको स्पष्ट पारे । 

उनले भने, ‘उहाँहरुले नाम पनि दिनुभाछ । हुन्छ र हुन्नको प्रक्रियामा पनि उहाँहरु यद्यपी नाराबाजीमा हुनुहुन्थ्यो र बोल्नुभएन । तर समर्थन छ । त्यसकारण बहुमतका साथ यो पारित भएको छ । नाम दिनुभएको छ । अब प्रक्रिया अगाडी बढ्छ । हाम्रो चाहाना के हो भने संसद भित्र अत्यन्त जरुरी विधेयकहरु पारित हुनुपर्छ । र त्यसको निमित्त प्रमुख प्रतिपक्ष पनि त्यो प्रक्रियामा सहभागी हुनुपर्छ । छलफलमा उसको पनि सहभागिता आवश्यक छ । हामी यो आग्रह उहाँहरुलाई गरिरहेका छौँ । दश, पन्ध्र मिनेट चलाएर बन्द गर्नुपर्ने अवस्था हो भने यसको प्रयोजन रहदैन भन्ने प्रश्न जनताबाट पनि उठ्न सक्छ । त्यसकारण जनताप्रति जवाफदेही बनाउने ढंगले यसलाई भरपुर रुपमा अझ चलायमान गर्नुपर्छ ।’

उनले थपे, ‘ आग्रहलाई गम्भिरतापूर्वक लिनुभएको छ । र अब संसद सञ्चालन हुन्छ त्यस्तो अवस्था हो भने त संसद पूर्णकाल सम्म जानुपर्छ ।  सर्वोच्च अदालतको व्याख्या पनि संसद पूर्णकाल जानुपर्छ भन्ने छ नि त । संसद नचल्दाको अवस्थामा प्रयोजन के हो भन्ने प्रश्न उठेको बेला, स्वभाविक रुपमा यो एजेण्डा उठेको हो कि भन्ने लाग्छ अर्लि इलेक्शनको कुरा । मलाई लाग्छ कुनै एजेण्डा, प्रस्तावको रुपमा आएको पनि होइन । परिस्थितिको विश्लेषण गर्दा आएको विषय हो ।’

Logo