चुनावी तालमेलकाे विषयले कांग्रेसमा सकस : देउवा-पौडेल पक्षमा, गगन-विश्वप्रकाशकाे कित्ता फरक

चुनावी तालमेलकाे विषयले कांग्रेसमा सकस : देउवा-पौडेल पक्षमा, गगन-विश्वप्रकाशकाे कित्ता फरक

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले ०७४ सालको निर्वाचन परिणाम सम्झिए। पर्सा पुगेर नेपाली कांग्रेसको जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्दै देउवाले एक्लै चुनाव लड्दाको परिणाम स्मरण गराए। उनले अहिलेको सत्ता साझेदार गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्नेमा जोड दिए। 

उनले भने, ‘एक्लै चुनाव लड्दा ०७४ सालको चुनावमा के भयो? अघिल्लो चुनावको परिणाम पनि सम्झिउँ। अहिले गठबन्धनको सरकार छ, मिलेर चुनाव लड्नुपर्छ।’ 

बलियो जनाधार र संगठन भएको एमाले प्रतिपक्षमा रहेका बेला एक्लै चुनाव लड्न नहुनेमा उनको जोड थियो। अहिले माओवादी केन्द्र, एकीकृत समाजवादीकै सहयोगबाट आफू प्रधानमन्त्री बनेको भन्दै उनले भने, ‘यो गठबन्धनलाई चुनावसम्मै लैजानुपर्छ। चुनावपछि पुनः नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्छ।’ 

पार्टीभित्रै गठबन्धन गर्न नहुने आवाज उठिरहेका बेला देउवाले आफ्नो पोजिसन प्रष्ट पारेका हुन्। उनी मात्र नभएर  कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि गठबन्धनलाई निर्वाचनसम्म लैजानुपर्ने पक्षमा छन् ।  

नेपाल तरुण दल, तनहुँले दमौलीमा आयोजना गरेको तरुण भेलालाई सम्बोधन गर्दै पौडेलले अहिलेको गठबन्धन निर्वाचनसम्मै लैजानुपर्नेमा जोड दिएका थिए। संसद् विघटन गर्ने कार्यको विरोधमा गठबन्धन गरेको स्मरण गराउँदै उनले आगामी निर्वाचनसम्म यसलाई लैजानुपर्ने बताए।  जुन ठाउँमा कांग्रेस कमजोर छ त्यहाँ गठबन्धन गर्दा कांग्रेसलाई फाइदा हुने उनको भनाइ थियो। 

कांग्रेस उपसभापति धनराज गुरूङले पनि आगामी निर्वाचनमा गठबन्धन गर्न हुनेमा जोड दिँदै आएका छन्। उनले त कांग्रेसलाई हात्ती र गठबन्धनका अन्य दललाई चमेरोको संज्ञा दिएका छन्। उनले भनेका थिए, ‘कांग्रेस हात्ती हो । चमेरोहरू ओत लाग्न खोज्दैछन्। चमेरोले हात्तीको कान दुर्गन्धित बनाउन खोज्दैछन्।’

महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा भने गठबन्धन गर्न नहुने पक्षमा छन्। कांग्रेस एक्लै चुनाव लड्न सक्ने भन्दै उनीहरू कुनै पनि राजनीतिक दलहरूसँग चुनावी तालमेल गर्न नहुने अडानमा छन्।

चुनावी गठबन्धनका विषयमा कांग्रेसभित्र तीन ध्रुव देखिएको छ। सभापति देउवासहित केही नेताहरू गठबन्धनसहित चुनावमा नहोमिए समस्या निम्तिने अडानमा छन्। सभापति देउवा र वरिष्ठ नेता पौडेल गठबन्धनसहित चुनावमा जानुपर्नेमा जोड दिइरहेका छन्। तर, महामन्त्रीद्वय थापा र शर्मा भने एक्लै चुनाव लड्नुपर्नेमा जोड दिइरहेका छन्। 

त्यस्तै अर्काथरी छन्, गठबन्धनसँग नभएर कांग्रेस एक्लै चुनावमा होमिनुपर्ने । कांग्रेसमा गठबन्धनबारे तेस्रो धार पनि देखिएकाे छ। उनीहरूको विचार भनेको नेपाली कांग्रेस कमजोर देखिएको क्षेत्रमा गठबन्धनसँग चुनावी तालमेल गर्ने र अन्यत्र आफैँ लड्ने। 

कांग्रेस महामन्त्री शर्माले अहिले नेताहरू फरक फरक विचार राख्दै आएको बताए । गठबन्धनसँगै जाने वा एक्लै लड्ने भन्नेबारे पार्टीले निर्णय गर्ने भन्दै अहिले नेताहरूले आ-आफ्नो विचार व्यक्त गर्दै आएको बताए। २९ फागुनदेखि कांग्रेसले ‘घरघर जाऔं, नेपाली कांग्रेसलाई जिताऔं’ अभियान चलाउँदैछ। त्यसपछि मात्रै चुनावी तालमेलका बारेमा निर्णय गरिने उनको भनाइ छ। 

एक महिनासम्म चल्ने उक्त अभियानपछि गाउँघरबाट कस्तो खालको प्रतिक्रिया आउँछ, सोही आधारमा मात्र कांग्रेसले चुनावी गठबन्धनका विषयमा निर्णय गर्ने उनले बताए। आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनलाई लक्षित गरि कांग्रेसले फागुन २९ गतेदेखि एक महिने ‘घरघर जाऔं, नेपाली कांग्रेसलाई जिताऔं’ अभियान सुरु गर्दैछ। ‘अभियानबाट नेताहरू फर्किएपछि पार्टीको बैठक बसेर निर्णय गर्छौं। अहिले नेताहरूले फरक फरक विचार व्यक्त गरिराख्नुभएको छ। जुन स्वाभाविक हो,’ महामन्त्री शर्माले भने। 

नेताहरूबाट गठबन्धनबारे फरक-फरक खालको धारणा आउन थालेपछि सभापति देउवाले जथाभावी नबोल्ने निर्देशन नै दिएका थिए। तर, नेताहरू भने अझै पनि गठबन्धनका विषयमा फरक-फरक दृष्टिकोण राख्दै आएका छन्।

Skip This
Skip This
Logo