विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नै पुनः नियुक्त गर्ने नारायणकाजीको संकेत

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नै पुनः नियुक्त गर्ने नारायणकाजीको संकेत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्ने संकेत गरेका छन् । सोमबार ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले त्यस्तो संकेत गरेका हुन् । कुलमान घिसिङले नेपालको उर्जा क्षेत्रमा पुर्याएको योगदानलाई नेपाली जनताले कहिल्यै बिर्सन नसक्ने उनको भनाइ छ ।

उनले ट्वीटरमा लेखेका छन्–‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ । उनले उर्जाक्षेत्रमा जे जति योगदान पुर्याएका छन् , त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन् । नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङ्को योगदान अझै आबश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा विस्वस्त छु ।’

मन्त्रिपरिषद्को बैठक बस्नुअघि श्रेष्ठको यस्तो ट्वीट आएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबार पूरा भएको थियो । वि.सं २०७३ भदौ २९ मा प्राधिकारणको कार्यकारी निर्देशक नियुक्त भएका उनको चार वर्षे कार्यकाल आइतबार पूरा भएको थियो ।

दैनिक १८ घण्टासम्म हुने लोडसेडिङको अन्त्य, निरन्तर घाटामा रहेको प्राधिकरणलाई १२ अर्ब रुपैयाँसम्म नाफामा लैजान र विद्युत् चुहावटलाई १५ प्रतिशतसम्म झार्नेलगायत काममा घिसिङ सफल भएका थिए । तत्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीले घिसिङलाई चिलिमे जलविद्युत् कम्पनीको प्रबन्ध सञ्चालक हुँदा सन्तोषजनक काम गर्न नसकेको भन्दै प्राधिकरणको केन्द्रीय कार्यालयमा तानेकी थिइन् । उनीपछि ऊर्जा मन्त्री बनेका जनार्दन शर्माले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्न प्रस्ताव गरेको थिए ।

Logo