एमाले अध्यक्ष ओली आज झलनाथ खनालकाे निर्वाचन क्षेत्र इलाम जाँदै

एमाले अध्यक्ष ओली आज झलनाथ खनालकाे निर्वाचन क्षेत्र इलाम जाँदै

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली आज आइतबार इलामको सूर्योदय नगरपालिका जाँदैछन् । एमालेकाे बृहत् जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाम पुग्न लागेका हुन्। ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जनसभालाई सम्बोधन गर्नेछन्। 

एमाले इलामका अध्यक्ष महेश बस्नेतका अनुसार इलामको निर्वाचन क्षेत्र नम्बर १ मा कार्यक्रम हुँदैछ। 

इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट झलनाथ खनाल विजयी भएका थिए। खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयोजना गर्न लागेको हो। 

खनालले एमाले छाडे पनि सूर्योदयमा नेकपा एमाले कमजोर नभएको एमाले अध्यक्ष बस्नेतको दाबी छ। ‘इलामको क्षेत्र नम्बर १ एमालेले जितेको क्षेत्र हो, हामी अहिले पनि यहाँको पहिलो पार्टी हौं’, अध्यक्ष बस्नेतले भने,‘को कत्रो छ भन्ने कुरा वैशाख ३० मा थाहा भइहाल्छ।’

पार्टीको नीति बिचार कार्यक्रमलाई आम जनतासम्म पुर्‍याउनको लागि जनसभाको आयोजना गरेको एमाले जनाएको छ।  

नेकपा एमाले सूर्योदय नगर कमिटीको आयोजना तथा जिल्ला कमिटीको व्यवस्थापनमा हुने जनसभाको तयारी तीव्र रूपमा भइरहेको सूर्योदय नगर कमिटीकी अध्यक्ष दुर्गादेवी भट्टराईले जानकारी दिइन्।  

फिक्कल चोक बजारमा आयोजना गरिएको जनसभामा १० हजारभन्दा बढी अगुवा कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारण सहभागी हुने आयोजकको अपेक्षा छ।

Logo