नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तीनवटै तहको निर्वाचनमा सत्ता गठबन्धनले देशभर साझा उम्मेदवार चयन गर्ने बताएका छन्।
शुक्रबार आयोजित महिला सङ्गठनको भेला तथा प्रशिक्षण कार्यक्रममा उनले वामपन्थी र लोकतान्त्रिक शक्तिको एकताका कारण लामो सङ्घर्षबाट प्राप्त राजनीतिक व्यवस्था र संविधानको रक्षा भएकाले आगामी निर्वाचनमा देशभर गठबन्धनका साझा उम्मेदवार तय हुने विश्वास व्यक्त गरे।
विदेशीहरूको दलाली गर्ने पार्टीसँग आफूहरूले कुनै पनि हालतमा तालेमेल नगर्ने बताउँदै उनले देश र जनताप्रति घात गरेकाले उनीहरूलाई चुनावमा जनताले दण्डित गर्ने ठोकुवा गरे। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले लोकतान्त्रिक मूल्य र मान्यतालाई आफ्नो पार्टीले आत्मसात् गरेकाले देशभक्तहरू पार्टीमा प्रवेश गर्ने महाअभियान सुरु भएको बताए।
स्थानीय तहको निर्वाचनमा खट्न कार्यकर्तालाई निर्देशन
अध्यक्ष नेपालले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक लाग्न आम कार्यकर्तालाई निर्देशन दिएका छन्। एकीकृत समाजवादीको पार्टी निकट एकीकृत ट्रेड युनियन महासङ्घ नेपाल (आइसिटियु) घोषणा सभा तथा सम्मान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी हुने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिएका हुन्।
पूर्वप्रधानमन्त्री नेपालले जनताको हितका निम्ति काम गर्नसमेत कार्यकर्तालाई निर्देशन दिए। उनले एमालेसँगको लडाइँ व्यक्तिगत स्वार्थको लडाइँ नभएर विचार र परिवर्तनकारी र यथास्थितिबीचको लडाइँ भएको प्रस्ट पारे।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले श्रमिकका आम समस्या समाधान गर्नका लागि जतिसक्दो चाँडो समयअनुसारको श्रम ऐन बनाएर प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले श्रमिकहरूलाई गोलबद्ध गर्दै श्रमजीवी वर्गको समृद्धि, भेदभावको अन्त्य, समान अवसर र समानताका लागि सरकार लागिपरेको बताए। पूर्वश्रमन्त्री मुकुन्द नेपालले स्वरोजगार श्रमिकलाई व्यवसाय गर्ने वैकल्पिक तथा उचित व्यवस्था मिलाउन सम्बन्धित निकायमा दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए।





























प्रतिक्रिया