माओवादीसँगको एकीकरणपछि नै एमाले सकिएको झलनाथ खनालको दाबी (भिडियाे)

माओवादीसँगको एकीकरणपछि नै एमाले सकिएको झलनाथ खनालको दाबी (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले खनालले नेकपा एमाले माओवादीसँगको एकीकरणपछि नै सकिएको दाबी गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजना भएको नेकपा समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय कमिटी प्रथम विस्तारित बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री खनालले यस्तो बताएका हुन् । उनले नेकपा एमाले भनेको इतिहास भएको भन्दै अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टी दक्षिणपन्थी अवसरवादको गुट भएको आरोप लगाएका छन् । पूर्व प्रधानमन्त्री खनालले नयाँ गुटले अहिले पनि देशभर नेकपा एमाले हौँ भनेर भ्रम छर्ने काम गरेको पनि बताए । उनले नेकपा एमालेमा रहेका नेता तथा कार्यकर्तालाई जनताको साथ दिइरहेको पार्टी नेकपा एकीकृत समाजवादीमा आउन पनि आग्रह गरे । उनले नेकपा एमालेले आगामी चुनावमा दुई तिहाइ सिट नभएर दुई तीन सिट मात्र ल्याउने दाबी गरेका छन् ।  

पूर्व प्रधानमन्त्री खनालले भने, ‘तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई भत्काउनको लागि पार्टी विभाजन गर्ने कामहरू गरियो । तीन वर्षसम्म चलिसकेको एकीकृत पार्टीलाई विभाजित गरियो र त्यो विभाजन पछाडि उत्प्रेषणको अधिकारबाट एउटा नयाँ गुटको जन्म भयो । हामीले लामो समयदेखि लगाएर बनाएको नेकपा जुन थियो त्यो नवौँ महाधिवेशनसम्म लगातार जारी रह्यो । त्यसले महत्त्वपूर्ण ऐतिहासिक भूमिका पनि खेल्यो । तर निर्वाचनको पूर्व घडी तिरको सेरोफेरोमा हामीले त्यो पार्टी र नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्‍यौँ । एकीकरण गरेपछि त्यति बेला त नेकपा एमाले त सिद्धियो नि । त्यो त इतिहासको वस्तु भयो, त्यो इतिहासको वस्तु भइसके पछिको अवधिमा उत्प्रेषणको अधिकारबाट सर्वोच्च अदालतबाट ब्युँताइएको पार्टीको नाम हो अहिले केपी ओलीको नेतृत्वमा रहेको पार्टी । यो गुट हो । यो नयाँ प्रकारले जन्म भएको गुटले देशभर यो नेकपा एमाले हो भनेर भ्रम छरिरहेको छ । हामीले बनाएको नेकपा एमाले त्यो होइन । अझै पनि थुप्रै साथीहरू नेकपा एमालेभित्र हामीले तन्त्र मन्त्र सुनाएका, हामीले प्रशिक्षित गरेका साथीहरू भ्रमवश बस्नुभएको छ । सही क्रान्तिकारी कार्यनिष्ठतिर आउन, समाजवादको बाटोतर्फ अघि बढ्न हार्दिक आह्वान गर्न चाहन्छु, नेकपा एमालेले आगामी चुनावमा दुई तिहाइ त होइन, त्यसको उल्टो दुई, तीन वटा हुनसक्छ । अब केपी ओलीले ल्याउने भनेको २÷३ वटा हो ।’

खनालले आफ्नो पार्टी नेपालको इतिहासमै छोटो समयमै राष्ट्रव्यापी बनेको पनि दाबी गरेका छन् । उनले नेपालको इतिहासमै ६ महिनाभित्रको समयमा अहिलेसम्म कुनै पार्टीले आफूलाई राष्ट्रव्यापी बनाउन नसकेको पनि बताए । उनले ६ महिनामा पार्टी राष्ट्रव्यापी बन्नु असाधारण विकास भएको दाबीसमेत गरेका छन् । उनले अहिले नेपालमा वैचारिक रूपले दक्षिणपन्थी अवसरवाद सबैभन्दा ठूलो अवरोध भएको बताए । पूर्व प्रधानमन्त्री खनालले वर्गीय रूपले दलाल पुँजीवाद सबैभन्दा ठूलो समस्या भएको र त्यसबिरुद्धमा आफ्नो पार्टी लडिरहेको बताए ।

खनालले भने, ‘यति बेलाको नेपालमा वैचारिक रूपले यो दक्षिणपन्थी अवसरवाद सबैभन्दा ठूलो अवराेध हो । वर्गीय रूपले होइन । वैचारिक रूपले । विचार, नीति सन्दर्भमा यो सबैभन्दा ठूलो अवरोध हो । वर्गीय रूपले दलाल पुँजीवाद हो । त्यो विरुद्ध हामीले लड्नुपर्छ ।  हामीले ६ महिनाअघि देखि विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेका छौँ । यो बीचमा एउटा राष्ट्रव्यापी पार्टीले आकार लिएको छ । नेपालको इतिहास पढ्नुस् त, टंकप्रसाद आचार्यले बनाएको पार्टीदेखि आजसम्म यति पार्टीहरू बने नेपालमा तर ६ महिनामा यत्रो राष्ट्रव्यापी कसले बनाएको थियो ? हामी सोध्न चाहन्छौँ । ६ महिनाको बीचमा यो पार्टीको जुन विकास भयो यो वास्तवमा असाधारण विकास हो । राम्रो ढंगले विकास गरेको छ । तर हामी यसमा सन्तुष्ट छैनौँ ।’

पूर्व प्रधानमन्त्री खनालले नेकपा एमाले आफैँ एउटा गन्जागोलको सिकार बनिरहेको पार्टी भएको दाबी गरेका छन् ।

 

Logo