‘अब हरेक स्थानीय तहले महिलालाई क्षमताअनुसार अवसर दिनुपर्छ’

‘अब हरेक स्थानीय तहले महिलालाई क्षमताअनुसार अवसर दिनुपर्छ’


स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल अब अन्त्य नजिक छ। २०७४ सालमा भएको निर्वाचनबाट ७५३ वटा स्थानीय तहमा ३६ हजार ६३९ पदाधिकारी निर्वाचित भए। निर्वाचित भएका मध्ये हाल देशभर १४ हजार ३५६ जना महिला जनप्रतिनिधि छन्। जसमा ७ जना महिला नगरप्रमुख, ११ जना महिला गाउँपालिका अध्यक्ष तथा उपप्रमुख र उपाध्यक्षमा ९४ प्रतिशत महिला छन्।

स्थानीय तहको निर्वाचनसम्बन्धी व्यवस्था ऐन, २०७३ ले राजनीतिक दलले अध्यक्ष/प्रमुख तथा उपाध्यक्ष/उपप्रमुखमा उम्मेदवारी दिँदा एक जना अनिवार्य महिला उम्मेदवार हुनु पर्ने व्यवस्था गरिदिएको छ। तर अधिकांश स्थानीय तहले महिलालाई उपाध्यक्ष/उपप्रमुखमा उठाएका थिए। सोहि कारण स्थानीय ७५३ स्थानीय तह मध्येमा १८ स्थानमा मात्र महिलाले प्रमुखको जिम्मेवारी पाएका छन्।  

चुनौतीपूर्ण समयको सहज सामना 
टोलटोल र गाउँगाउँमा काम गर्ने होइन गफ गरेर राज्यकोषको दुरुपयोग गर्न मात्र जनप्रतिनिधि भएको भन्नेहरुको जमात ठूलै थियो। तर जटिल परिस्थितिमा पनि जनप्रतिनिधिले जनताका उल्लेख्य काम गरेका छन् । स्थानीय सरकारको आभाष दिन कतिपय जनप्रतिनिधि दिनरात खटिएका समाचारहरु पनि आएका थिए। केहीलाई छाडेर अधिकांश स्थानीय तहमा भने भ्रष्टाचार, राज्यशक्तिको चरम दुरुपयोग पनि नभएको होइन। देशभरबाट जितेका ७ जना महिला नगरप्रमुखले भने जनमानसमा रहेको पितृसतात्मक सोचलाई चिरेर नगरको विकासमा उदाहरणीय काम गर्न सफल भएका छन्। उनीहरुको चर्चा भने देशभर छ। एउटा चुनौतीपूर्ण बाटोलाई चिर्दै नगरको विकासमा लागेका ७ महिला प्रमुखले समाजको धारण बदल्ने काम मात्र गरेनन्। देशभर आफ्नो नाम स्थापित गराएर काम गरेर देखाएका छन्। यो अर्थपूर्ण र महिला सहभागिताको एउटा सफल पाटो हो। 

नगर प्रमुखको काम, कर्तव्य र अधिकार
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ ले नगरपालिकाको काम कर्तव्य र अधिकार तोकेको छ। नगरप्रमुखले सभा र कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्नु पर्नेछ। यस्तै बैठकको कार्यसूची तथा प्रस्ताव पेस गर्ने काम पनि प्रमुखले गर्नु पर्नेछ। उनीहरुले गाउँपालिका वा नगरपालिकाको आवधिक वा वार्षिक कार्यक्रम वा बजेट तयार गरि सभामा पेस गर्ने अधिकार छ। अध्यक्ष वा प्रमुखले उपाध्यक्ष वा उपप्रमुख, कार्यपालिकाका सदस्यहरूलाई नियमावलीअनुसार कार्य जिम्मेवारी बाँडफाँट गर्नेछन्। यसैगरि सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने र गराउने, अनुगमन तथा मूल्यांकन एवं समीक्षा गर्ने गराउने काम पनि पनि प्रमुख वा मेयरको जिम्मेवारी हो । 

आफ्नो स्थानीय तहभित्रको चलअचल सम्पत्ति हेरविचार तथा मर्मतसम्भार गर्ने गराउने अध्यक्ष वा प्रमुखले कार्यपालिकाका सदस्यहरू, वडा सदस्यहरू, विषयगत विभाग–महाशाखा, शाखा प्रमुखहरूसँग कार्यसम्पादन करार गर्न सक्नेछन् । यस्तै आफ्नो स्थानीय तहभित्र कुनै विकास निर्माण वा सेवासँग सम्बन्धित कामबारे अन्य स्थानीय तह वा प्रदेशसँग समन्वय गर्ने काम, स्थानीय तहले गरिरहेका मासिक प्रतिवेदन तयार गर्ने काम पनि छ। 

यस्तै अर्को महत्वपूर्ण काम आफ्नो क्षेत्रभित्र रहेका अव्यवस्थित बस्तीको व्यवस्थापन तथा सरकारी जमिन, ऐलानीमा भएका अतिक्रमण नियन्त्रण गर्ने जिम्मा छ। स्थानीय तहको आन्तरिक आयस्रोत बढाउने कार्ययोजना पनि अध्यक्ष वा प्रमुखले ल्याउने छन् ।आफ्नो क्षेत्रभित्र सुशासन तथा सदाचार नीति तर्जुमा गर्ने यस्तै गाउँपालिका अध्यक्ष वा नगरपालिकाको प्रमुखले तीन दिनभन्दा बढी समयका लागि आफ्नो तहभन्दा बाहिर जानु पर्दा उपप्रमुखलाई कार्यभार सुम्पिनु पर्ने व्यवस्था छ। यसरी हेर्दा नगरप्रमुख भनेको स्थानीय तह सरकारको प्रमुख हो। 

यहाँ हामीले देशभरबाट जितेका स्थानीय तहका महिला प्रमुख मध्ये ५ जनासँग आगामी निर्वाचनमा केन्द्रित भएर अनुभव र योजनाका विषयमा कुराकानी गरेका छौं । 

चन्द्रकुमारी पुन, कावासोती नगरपालिका, नवलपरासी 
‘सर्वप्रथम पार्टीको कुरा मान्नु पर्ने हुन्छ। पार्टीको सिद्धान्त र विचारलाई लिएर हिँडेको हुनाले सो कुरालाई अनुशरण गर्नुपर्ने हुन्छ। पार्टीमा कुरा चलिरहेको छ। मेरो व्यक्तिगत भन्दा पनि पार्टीको निर्णय नै मेरो निर्णय भएकाले म पार्टीले दिएको जिम्मेवारी सम्हाल्ने तयारीमा छु। ५ वर्षको अवधीमा थुप्रै कामहरु गरेर जनताको मन जितेको छु। उहाँहरुले दोहोर्याउन अनुरोध गरिरहनु भएको छ। बहुदलीय प्रतिस्पर्धामा जाने भएकाले हामीले सबै कुरालाई समेट्न पर्ने अवस्था छ । म अगाडि जानुपर्छ भन्ने सोचमा छु। लामो समय जनप्रतिनिधिविहीन हुँदा लथालिङ्ग भएको स्थानीय तहको जग बसालेर काम गरेका छौं। घोषणापत्रमा उल्लेख भएको सम्पूर्ण कामहरु चाहेर पनि पूरा गर्न नसकिने रहेछ। केही अपुरा काम छन् जसलाई जो आएपनि पूरा गर्नुहुनेछ भन्ने विश्वास छ। तराईका महिलालाई एउटा उचाइमा पुर्याउने काम गरेको छु। यहाँको फोहोरमैला व्यवस्थापन नहुँदा नगरबासी मारमा थिए। त्यसको व्यस्थापन गरेको छु। किसानले लगाएको अन्नबालीमा वन्यजन्तुले नोक्सानी गर्दै आएका थिए। त्यसकै कारण यहाँका स्थानीय मारमा हुनुहुथ्यो , त्यसलाई पर्खाल तथा तारजाली लगाएर व्यवस्थानपन गर्ने काम गरेको छु। एउटा महिलाले नगरप्रमुख भएर काम गर्न सक्दैनन् भन्ने पितृसतात्मक सोचलाई अन्त्य गरेको छु। काममा पारदर्शिता र जनतामा जवाफदेही भएर काम गरेको छु। म विद्यार्थी राजनीतिबाट आएको मान्छे भएकाले काम गर्ने सहज वातावरण मिलेको थियो। मलाई जनताको सेवा गर्दा अत्यन्तै खुसी र उर्जा मिलेको छ।’

सीमाकुमारी क्षेत्री, प्रमुख, पुतलीबजार नगरपालिका, स्याङ्जा 
‘व्यक्तिगत इच्छा हुनु स्वाभाविक रहेछ। पार्टीले तपाईंको आवश्यकता यहाँ हो, यहाँ जानु भन्दा मान्नुपर्ने हुन्छ । मेलै नेतृत्व गरेको नगरपालिका म निर्वाचित हुनुभन्दा पहिला कालोसूचीमा थियो। अहिले सुशासन र वित्तीय सेवामा देशकै उत्कृष्ट नगर बन्न पुगेको छ। पूर्ण खोप, राम्रो सुशासन तथा जनताप्रति जवाफदेही भएका कारण देशभरि नै हाम्रो नगरपालिकाको चर्चा हुने गरेको छ भन्ने खबर आउँछन्। अब अन्य महिलालाई नेतृत्वमा ल्याउने मेरो जिम्मेवारी हो। मेरो योजना अब प्रदेशमा प्रत्यक्षरुपमा उमेद्वार भएर लड्ने हो। महिलालाई अवसर दिए जस्तोसुकै कामहरु नीतिगत हिसाबले पनि सहज तरिकाले गर्न सक्छन् भन्ने उदाहरण दिएको छु। खुसी लाग्छ। जनभावनाको सम्मान तथा नगरको विकासका कारण मलाई पद दोहोर्याउनसमेत नगरबासीले आग्रह गर्नुभएको छ। तर मेरो सोच अरुलाई पालो दिएरमाथि लाने हो। मैले जनतासामु गएर गरेका प्रतिबद्धता पूरा गर्न कुनै कसुर बाँकी राखेको छैन। नीतिगत कारण केही कुराहरु पूरा नभएको भएपनि त्यसलाई पनि पूरा गर्ने अर्का कामलाई जोड दिएको छु। शिक्षण पेसामा आवद्ध भएकाले पनि मैले कार्यसम्पादनमा खासै जटिलता व्यहाेर्नु परेन।’

प्रभा बराल, राप्ती नगरपालिका, चितवन 
‘मेरो मान्यता अरुलाई पनि अवसर दिनुपर्छ भन्ने हो। अब पनि राप्तीमा महिला मेयर आउनुपर्छ भन्ने मेरो माग हो । मेरो चाहाना प्रत्यक्ष निर्वाचन प्रकृयामार्फत प्रदेशमा जाने हो। मैले नगरप्रमुखको जिम्मेवारी चलाइरहँदा आफ्नो कामलाई न्यायोचित ढंगबाट सम्पादन गरेको छु भन्ने लागेको छ। देशभरबाट विजयी भएका ७ जना महिला मेयर र ११ जना गाउँपालिका अध्यक्षको कार्यसम्पाद मध्ये धेरै क्षेत्रको सर्वेक्षणमा भ्रष्टाचाररहित नगरका रुपमा अगाडि आउँदा खुशी लाग्छ। यसले काममा थप उर्जा मिलेको छ। मेरो नगरपालिका देशभरबाट सामाजिक विकासको क्षेत्रमा उत्कृष्ट बन्न पुगेको छ। यो नगरबासीको माया तथा हाम्रो कामको सबल मूल्यांकन भएको जस्तो महसुस हुन्छ। खुशी लाग्छ । सुरुमा नसकिएला कि भन्ने चिन्ता थियो तर गर्दै जाँदा र जनप्रतिनिधि, कर्मचारीको साथ सहयोगले सहज बन्यो । मैले नगरका शिक्षा, स्वास्थ्य, कृषि, विद्युत्, यातायात तथा विकासका कामलाई निरन्तरता दिएर काम गरे। मेरो क्षेत्रमा चेपाङ समुदायमा ब्याप्त बालविवाहको डरलाग्दो स्वरुप थियो। त्यसलाई रोक्न मैले विद्यालय भर्ना दर शतप्रतिशत पुर्याएको छु। छात्रालाई कलेज पढ्नका लागि आर्थिक सहयोग गरेको छु। म राजनीतिक फिल्डबाट आएको मानिस भएकाले काम गर्न सहज नै भयो। प्रतिबद्धतामा भएका कुरा ९० प्रतिशत पूरा गरेको छु केही पूरा हुने क्रममा छन्।’ 

मन्जु मलासी, दिपायल सिलगढी नगरपाालिका, डोटी 
‘निर्वाचित भएपछि जनताको काम गरियो र सबै काम उनीहरुको माग अनुसार गरेको छु। मेरो कामलाई नगरबासीले रुचाउनु भएको छ। उहाँहरु खुशी हुनुहुन्छ। अबको तयारी भनेको पुनः नगरप्रमुखमा लड्ने हो । पार्टीमा कुरा चलिरहेको छ। जनताले दोहोर्याउन अनुरोध गर्नु भएको छ। जनाताको माग म नै नगर प्रमुखमा जाउँ भन्ने छ। यो मेरा लागि सकारात्मक छ। के हुन्छ पार्टीले निर्णय गर्ने कुरा हो। पहिलो अनुभव राम्रो भयो। परिवारबाट पनि राम्रो साथ पाएँ। पूरा गर्नै नसकेको कामलाई निरन्तरता दिन तथा आफ्नो नगरलाई नमुना नगरको रुपमा विकास गर्न मैले पुनः नगर प्रमुख बन्नुछ। दुई वर्ष कोरोनाका कारण काम गर्न पाइएन। सो कारण आफूले प्रतिबद्धता गरेका सम्पूर्ण कुरा पूरा गर्ने सकिनँ। अहिले यसै भन्न सकिएको छैन। महिलाले नगरप्रमुख चलाउन सक्दैनन् भन्ने कुरा उठेका थिए तर पछि मेरो काम देखेर उहाँहरुले नै तपाइँले राम्रो गर्नु भएको छ भन्नु भएको छ। 

कान्तिका सेजुवाल, चन्दननाथ नगरपालिका, जुम्ला 
‘प्रथम पटक संघीयता आएपछि निर्वाचित भएर काम गर्न निकै चुनौतीपूर्ण थियो । त्यो अवस्थामा पनि बिचलित नभइ जनभावनाको कार्यक्रमहरु गरियो। घोषणपत्रमा उल्लेख गरेका सबै कामहरु पूरा गरेको छैन। केही पूरा हुने चरणमा छन्। अब निर्वाचन आयो। मेरो अबको योजना भनेको पुनः नगर प्रमुख नदोहोर्याउने हो। पार्टीमा कुरा चलिरहेको छ। मैले कुरा राखेको छु। म अब केन्द्रमा जाने योजनामा छु। मलाई प्रत्यक्ष  भएपनि अथवा समानुपातिकरुपमा भएपनि केन्द्रमा जाने इच्छा छ। मैले नेतृत्व गरेको नगरको विकास तथा परिवर्तनलाई जनता र पार्टीले उचित मूल्याङ्कन गरिरहेका छन् भन्ने लागेको छ। मैले महिलाले काम गर्न सक्दैनन् भन्ने भ्रमलाई चिरेर अधिकार र अवसर पाए जस्तोसुकै काम पनि गर्न सक्छन् भन्ने उदाहरण दिएको छु। काम भनेको क्षमताका आधारम गर्ने हो। महिला पुरुष भनेर विभेद गर्नु भनेको सानो सोच मात्र बनाउनु हो। अब हरेक स्थानीय तहले महिलालाई क्षमता अनुसार अवसर दिनुपर्छ। पार्टीका नेताहरुले पनि यो विषयमा गम्भीर भएर सोच्नु आवश्यक छ। क्षमताअनुसार जिम्मेवारी दिइएन भने देशको विकास पछि पर्ने रहेछ। महिलाले जिम्मेवारी लिएका पालिकाको अवस्था हेर्दा देखिएको प्रगति र सफलतालाई एकपटक सबैले मूल्याङ्कन गर्न जरुरी छ। मैले नेतृत्व गरेको नगरपालिकामा घरघरमा सुत्केरी गराउने प्रवृत्ति थियो। त्यसको अन्त्य मैले गराएको छु। सबै वडामा शिक्षा, स्वास्थ्य तथा विकासलाई प्राथमिकतामा राखेर काम गरेकी छु। म सुरुवाती अवस्थाबाट नै पार्टी र जनताको नजिक भएर संगठनमा काम गरेको भएकाले मलाई नगरका काम गर्ने तथा नीति नियम बुझ्न समस्या भने भएन ।’ 

Logo