नेपाल र बङ्गलादेशबीच अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्न जोड

नेपाल र बङ्गलादेशबीच अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्न जोड

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपाल र बङ्गलादेशले जलवायु परिवर्तन, दिगो विकास, बहुपक्षीय व्यापारलगायत पारस्परिक हितका विषयमा क्षेत्रीय मञ्च, संयुक्त राष्ट्रसङ्घ र विश्व व्यापार सङ्गठन जस्ता बहुपक्षीय मञ्चहरूको घनिष्ठ सहकार्यलाई थप अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन्।

नेपाल र बङ्गलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले दुई देशले व्यापार, पर्यटन, ऊर्जा र कनेक्टिभिटीलगायतका क्षेत्रमा सहकार्य र साझेदारीलाई आगामी दिनमा अझ प्रभावकारीका साथ विस्तार गर्नुपर्ने बताए।

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै उनले द्विपक्षीय विकासका समान एजेण्डा रहेको बताए। सो अवसरमा मन्त्री डा खड्काले नेपालको अपार सम्भावना रहेको जलविद्युत् क्षेत्रमा लगानीका लागि बङ्गलादेश सरकारलाई आह्वान गरे।

नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दीन नमन चौधरीले नेपालले बङ्गलादेशलाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा प्रारम्भिक मान्यता दिएको उल्लेख गर्दै त्यसपछि कूटनीतिक सम्बन्ध स्थापना भई दुवै देशबीचको घनिष्ठ मित्रता कायम रहिरहेको बताए। उनले दुई देशबीच विद्युत् विकास र विस्तारमा जोड दिँदै पारस्परिक सहयोग र सहकार्यबाट व्यापार, लगानी, कनेक्टिभिटीमा अभिवृद्धि गर्नुपर्ने धारणा व्यक्त गरे।

Logo