आसन्न स्थानिय निर्वाचनमा चुनावी तालमेलका लागी कैलालीमा ५ दलिय कार्यदल गठन गरिएको छ । सत्ता गठबन्धन दलले केन्द्रमा गठबन्धनबीच चुनावी तालमेल गरेपछि जिल्लामा पनि सो निर्णय अनुसार तालमेलको तयारी हुँदै छ । तालमेलबारे मोडल र निष्कर्षमा पुग्न कार्यदल गठन गरिएको हो ।
गठित कार्यदलको बैठक यही चैत २७ गते पुनः बसेर चुनावी तालमेलका बारेमा थप छलफल गर्न लागिएको कांग्रेसका जिल्ला सचिव नृप सुनारले जानकारी दिए । धनगढीमा शुक्रबार बसेको पाँच दलको बैठकले गठन गरेको कार्यदलमा नेपाली कांग्रेसका जिल्ला सभापति नारायणदत्त भट्ट, नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला इञ्चार्ज दीर्घबहादुर सोडारी, नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज हरि ज्ञवाली, राष्ट्रिय जनमोर्चाका जगतप्रकाश जोशी र जनता समाजवादीका होरीलाल चौधरी रहेका छन् ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी गठबन्धन गरेर जाने सहमति बनाएका पाँच दलबीच कुन पदमा कुन दलका व्यक्तिलाई उम्मेदवार बनाउने भन्ने विषयमा तालमेल गर्न सकस भइरहेको ती दलका नेता तथा कार्यकर्ताले बताए । सहमति जुट्न सकस भइरहँदा गठबन्धन दलका नेता कार्यकर्तामा अन्योल सिर्जना भइरहेको छ ।
कांग्रेस जिल्ला सचिव सुनारले भने, “केन्द्रमा पाँच दलबीच भएको सहमतिबमोजिम जिल्लामा चुनावी गठबन्धन बनाएर कसरी जान सकिन्छ भन्ने विषयमा छलफल भइरहेको भए पनि सहमति जुट्न सकिरहेको छैन ।”
पाँच दलले चुनावी गठबन्धनको तयारी थालेपछि विपक्षी नेकपा ९एमाले०ले पनि अन्य दलसँग चुनावी गठबन्धन गर्ने बारेमा छलफल गरिरहेको छ । पाँच वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा कैलालीका सात तहमा एमाले, तीन तहमा कांग्रेस, दुईमा माओवादी केन्द्र र एक तहमा तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उम्मेदवार प्रमुख पदमा विजयी भएका थिए ।





























प्रतिक्रिया