स्थानीय तह निर्वाचनः यस्ता छन् ललितपुरकाे गोदावरी नगरपालिकाका मेयर आकांक्षी

स्थानीय तह निर्वाचनः यस्ता छन् ललितपुरकाे गोदावरी नगरपालिकाका मेयर आकांक्षी

केन्द्रबिन्दु
0
Shares

स्थानीय तह निर्वाचन आउन एक महिना बाँकी रहँदा मध्यललितपुरको गोदावरी नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा मेयरको आकांक्षा राख्नेहरू बढीरहेका छन् । 

एमालेभित्र संघीय सांसद चेतनाथ सञ्जेल र नेता गम्भीर रानाको मेयर पदमा उम्मेदवारी चर्चा सुरू भएको छ।

नेपाली कांग्रेसमा मेयर गजेन्द्र महर्जनको टिम नै दोहोरिने दाउमा छ भने पुरुषोत्तम सिलवाल, चक्र महर्जन र रामशरण घिमिरेलगायत दावेदारी प्रस्तुत गर्न दौडधुपमा छन्।

माओवादी केन्द्रका महेन्द्र श्रेष्ठ, भाग्यराम महर्जन, न्हुँच्छेराम महर्जन रामप्रसाद दाहालले पनि मेयरको आकांक्षा देखाएका छन्। माओवादीबाट गोदावरी नगरका अध्यक्षसमेत रहेका महर्जन गठबन्धनसँग मिलेर उम्मेदवारी दिने तयारीमा छन्। उनी भन्छन्, ‘सम्मानजनक अवस्था नभए हामी एक्लै पनि लड्ने सम्भावना छ।’ 

बागमती प्रदेशका सांसदसमेत रहेका एमाले नेता चेतनाथ सञ्जेल कार्यकर्ताहरूले मेयर जित्ने उम्मेदवार आफू भएको चर्चा हुने गरेको बताउँछन्। भन्छन्, ‘मैले रहर गरेर मात्रै हुँदैन । पार्टीले जिम्मेवारी दिए भाग्न पनि मिल्दैन ।’

स्थानीय नेता राना भने आफू मेयर पदको उम्मेदवारीको पक्षमा खुलेरै बहस सुरु गरेको बताउँछन् । ‘मैले मेयरको दावी गरेर अघि बढेको छु । खै मैले त कसैले एमालेबाट मेयरको दावी मेरो हो भनेर अघि बढेको देखेको छैन । कोठाकोठामा चाँही के हुन्छ थाहा छैन ।’ उनी भन्छन् । एमाले गोदावरी नगर कमिटी अध्यक्ष प्रभाकर थापा, ब्रम्हानन्द श्रेष्ठ, रघुनाथ महर्जन र रमेशचन्द्र घिमिरेलगायत मेयरको लागि कार्यकर्ता पंक्तिमा चर्चा हुने गरेको छ । नाम नबताउने शर्तमा एक नेताले भने, ‘एमाले पंक्तिमा मेयरको उम्मेदवारीको चर्चा गम्भीर र चेतनाथको धेरै नै भइरहेको छ। उहाँहरूको कुरा मिलेन भने तेस्रो व्यक्तिको लागि हानथाप होला।’ 

सांसद सञ्जेलले नगरपालिकामा उम्मेदवारी दिने अवस्थामा सांसद पद रिक्त हुने र फेरि निर्वाचन गर्नुपर्ने अवस्थाका कारण मेयरमा पार्टीले टिकट दिने सम्भावना कम रहेको उनको भनाइ छ।

नगरपालिकाका प्रवक्तासमेत रहेका नेपाली कांग्रेसका नेता मिलन सिलवाल नगरपालिकाका सबै पदाधिकारी फेरि दोहोर्याउने इच्छा देखाइरहेको बताउँछन् । भन्छन्, ‘म आफैं पनि गोदावरी–५ नम्बर वडामा फेरि उम्मेदवारी दिने इच्छा व्यक्त गरिरहेको छु ।’ नगरपालिकाका प्रवक्ता सिलवाल नगरपालिकामा आउनासाथ भौतिक संरचना र कानुन नहुँदा भने जसरी काम गर्न नसकेको बताउँछन् । भन्छन्, ‘हामीलाई कोरोनाका कारण काम गर्ने भन्दा पनि जनताको ज्यान जोगाउनतिर लाग्नु पर्यो ।’

उपमेयर मुना अधिकारी स्थानीय निकायमा भर्खर काम गर्ने वातावरण बनेकोले उपमेयरमा फेरि उम्मेदवारीको आकांक्षा राखेको बताउँछिन् । भन्छिन्, ‘सुरुका दिनमा कसरी काम गर्ने धेरै अन्यौल थियो । आफ्नो भवन थिएन कानुन थिएन । लामो समय स्थानीय निकाय रिक्त थियो । कसरी काम गर्ने सिकाइदिने मान्छे थिएनन् ।’

एकीकृत समाजवादीका ललितपुर सहसंयोजक अमृतनाथ तिमल्सिनाले भने आफ्नो पार्टीमा उम्मेदवारीका सम्बन्धमा छलफल चलिनसकेको बताउँछन् । उनी भन्छन्, ‘गठबन्धनमा रहेका दलहरूको जिल्लामा भर्खर संयन्त्र बनेको छ । हामी निर्णय गरेर साझा उम्मेदवार छान्छौं।’

Skip This
Skip This
Logo