निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीसँग जवाफ माग्यो

निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीसँग जवाफ माग्यो

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्ने उजुरी आएको भन्दै तीन दिनभित्र चित्तबुझ्दो जवाफ दिन नेकपा एकीकृत समाजवादीलाई निर्देशन दिएको छ।

सोमबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा आयोगले गत चैत्र २६ गते काठमाडौंमा आयोजित पार्टीको आमसभामा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्ने उजुरी आएको उल्लेख गर्दै आधार प्रमाणसहित ३ दिनभित्र चित्तबुझ्दो जवाफ दिन नेकपा एकीकृत समाजवादीलाई निर्देशन दिएको हो ।

आम सञ्चार माध्यम र विभिन्न सामाजिक सञ्जालहरुमा पनि सो जानकारी आएपछि चित्तबुझ्दो जवाफ दिन सो पार्टीलाई निर्देश गरिएको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए। 

उनले भने, ‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादीले मिति २०७८ चैत्र २६ गते काठमाडौंको भृकुटीमण्डवमा आयोजना गरेको आमसभामा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उलंघन भएको भन्ने आम सञ्चार माध्याम तथा सामाजिक सञ्जालबाट जानकारी हुन आएकाले सो सम्बन्धमा के कसो भएको हो ? तीन दिन भित्र आधार, प्रमाणसहित आयोगलाई चित्तबुझ्दो जवाफ माग गरिएको छ।’

त्यसैगरी, आयोगले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भएको खर्चबारे दिएको अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालासँग पनि जवाफ माग गरेको छ। कोइरालाले सो निर्वाचनमा ६ करोडभन्दा बढि खर्च भएको अभिव्यक्ति दिएका थिए। तर उनले आयोगमा पेश गरेको विवरणमा भने २१ लाख ७५ हजार मात्रै उल्लेख रहेकाले के कसो भएको हो, त्यसको जवाफ ७ दिनभित्र पेश गर्न कोइरालाको ध्यानाकर्षण पनि गराइएको आयोगका प्रवक्ता पौडेलले बताए। 

Logo