काठमाडौंका खाली जग्गा भूमाफियाहरुका कब्जामा परेका छन्: प्रधानमन्त्री देउवा

काठमाडौंका खाली जग्गा भूमाफियाहरुका कब्जामा परेका छन्: प्रधानमन्त्री देउवा


प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको खाली जग्गा भूमाफियाहरुका कब्जामा रहेको बताएका छन्।

मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले काठमाडौंका खाली ठाउँहरुमा भूमाफियाहरुले आफ्नो नाममा लिने काम भइरहेको भन्दै यसमा सचेत भएर काम गर्नुपर्ने बताए। यसलाई नियन्त्रण गर्न नसके भविष्यमा काठमाडौंमा खाली ठाउँ नहुने पनि बताए। प्रधानमन्त्री देउवाले काठमाडौंमा फोहोरको समस्या जटिल बन्दै गएको भन्दै फोहोरबाट विद्युत र ग्याँस निकालेर व्यवस्थापन गर्नुपर्ने बताए। उनले फोहोर व्यवस्थापन हुन नसक्दा सरकार नै लाजमर्दो भइरहेको बताए।

प्रधानमन्त्री देउवाले भने, ‘अहिले काठमाडौंमा जुन किसिमको फोहोर नै फोहोर छ । व्यवस्थापन भएको छैन। फोहोर थुप्रिएको छ। फोहोर व्यवस्थापन गर्न जरुरी छ। ग्यास निकाल्न सकिन्छ, बिजुली निकाल्न सकिन्छ । मैले आफैँले देखेर आएको छु धरानमा । फोहोरका थुप्रोलाई व्यवस्थित गरेर बिजुली निकाल्ने सम्भावना छ। विदेशी राजदुतहरुले पनि हामी त्यसको लागि काम गर्न तयार छौँ भनेका छन् । अर्को कुरा भूमाफियाहरुले जथाभावि ठाउँठाउँमा जग्गा हडप्दै गएका छन् । जसले पनि आफ्नो नाममा गरेका छन् । यसमा पनि ध्यान दिनुपर्नेछ। नत्र भोलि काठमाडौंका कुनै ठाउँ बाँकी हुने छैनन् ।’

प्रधानमन्त्री देउवाले अहिले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई ध्यान दिएर मात्रै काम गर्ने प्रतिबद्धतासमेत जनाए।

Logo