यस्ताे छ नयाँ वर्षमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीकाे शुभकामना

यस्ताे छ नयाँ वर्षमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीकाे शुभकामना

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेकी छिन्।  

राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै नयाँ वर्षको सुरुआत भएको यस अवसरमा हामीले विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक रहेको बताइन्। 

हरेक वर्ष बढिरहेको व्यापार असन्तुलन कम गर्न स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवर्द्धन गरि राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने सन्देशमार्फत भनिएको छ। 

ठूलो सङ्ख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न रोजगारी र अवसरको सिर्जना गर्ने नीति कार्यान्वयन गर्न ढिलाइ गरिनु हुँदैन । जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, कृषि र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर सोहीअनुसारका नीति अवलम्बन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन सङ्घीय, प्रदेश र स्थानीय सरकारका साथै सम्बद्ध सबैमा आह्वान गरेकी छिन्। 

प्रकृतिप्रदत्त स्रोतको दिगो व्यवस्थापन एवं उपयोगमार्फत वातावरणमैत्री आर्थिक विकासद्वारा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न प्रयत्नशील हुनुपर्ने सन्देशमार्फत भनिएको छ। 

विक्रम संवत् २०७९ निर्वाचनको वर्ष बन्न गइरहेको छ। स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा जनताले आफ्नो मताधिकारको प्रयोग गर्न पाउनु लोकतन्त्रको उच्चतम् अभ्यास भएको हुनाले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई सोहीअनुरूप सम्पन्न गर्नु हामी सबैको जिम्मेवारी रहेको पनि राष्ट्रपति भण्डारीकाे सन्देशमा उल्लेख छ।  

अन्त्यमा, नयाँ वर्ष २०७९ ले देशमा दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर र उत्साह पैदा गरी समाजमा विद्यमान अन्धविश्वास, कुरीति एवं कुसंस्कारलाई हटाउँदै न्यायपूर्ण सभ्य र सुसंस्कृत समाज निर्माण गर्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने सबैमा शुभकामना दिएकी छिन्।  

समृद्ध नेपाल निर्माणमा एकाकार भएर लाग्न प्रेरणा प्रदान गर्ने उपराष्ट्रपतिको विश्वास

उपराष्ट्रपति नन्दबहादुर पुनले नववर्ष २०७९ ले समृद्ध नेपाल निर्माणमा एकाकार भएर लाग्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। नववर्षको सुरुआतका अवसरमा आज शुभकामना सन्देश प्रवाह गर्दै उनले संविधानको पूर्ण पालना, राजनीतिक स्थायित्व कायम तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नयाँ वर्षले उत्प्रेरित गर्ने बताए।
 
विक्रम् संवत् २०७९ लाई निर्वाचन वर्षकारुपमा स्वागत गरिएको उल्लेख गर्दै उनले स्थानीय सरकार गठनका लागि वैशाख ३० गते हुने निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन सम्पूर्ण नेपालीलाई अपिल गरे। राष्ट्रको प्राथमिकता संविधानको पूर्ण कार्यान्वयन, राजनीतिक स्थायित्व, स्थायी शान्ति, दिगो विकास तथा प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु रहेको बताउँदै उपराष्ट्रपति पुनले त्यसमा ध्यान केन्द्रित गर्न आग्रह गरे।
 
उनले देशविदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सु–स्वास्थ्य, उत्तरोत्तर प्रगति एवं राष्ट्रको निरन्तर समुन्नति र समृद्धिको कामनासमेत गरेका छन्।

प्रधानमन्त्री देउवाबाट नयाँ वर्षको शुभकामना सन्देश
प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नयाँवर्ष २०७९ प्रारम्भ भएको सुखद् अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्ति गरेका छन्।  

गत वर्षको अनुभवलाई शिक्षाका रुपमा लिइ नयाँ वर्षमा नयाँ जोश, नयाँ उमङ्ग र नयाँ उत्साहका साथ आआफ्नो कार्यक्षेत्रमा जुट्दै राष्ट्रको नवनिर्माण, समृद्धि र सुशासनका निम्ति जुट्न  प्रधानमन्त्री देउवाले सबैलाई आग्रह गरेका छन्।  

मुलुकको प्रतिष्ठा अभिवृद्धि गरि समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु हामी सबैको सर्वेपरी लक्ष्य रहेको भन्दै उनले यस साझा लक्ष्यलाई प्राप्त गर्न हामी सबै नेपालीबीच एकता, पारस्पारिक मेलमिलाप, भाइचारा र सौहाद्रपूर्ण भावनालाई अभिवृद्धि गर्दै अघि बढ्नुपर्ने शुभकामना सन्देशमा भनिएको छ।  

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप मजबुत बनाउँदै जनताको विकास र समृद्धि को आकाङ्क्षालाई यथाशीघ्र पूरा गर्ने अभियानमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

Logo