के राजनीति गर्न साँच्चिकै गाह्रो छ ?, कस्ता मान्छेले गर्ने हो राजनीति ?

के राजनीति गर्न साँच्चिकै गाह्रो छ ?, कस्ता मान्छेले गर्ने हो राजनीति ?

केन्द्रबिन्दु
0
Shares

विभिन्न मुलुकमा कला क्षेत्रबाट आएर थुप्रै 'सेलिब्रेटी'हरू राजनीतिमा जमेका छन्। उनीहरू राजनीतिक दलमा आवद्ध मात्र भएका छैनन् राजनीतिकरूपमा सफल पनि भएका छन्। पछिल्लो समय नेपालमा पनि कला क्षेत्रका व्यक्तिहरू राजनीतिक दलमा आवद्ध हुने गरेका छन्।

जसै उनीहरू राजनीतिक दलमा आवद्ध हुन्छन् 'सेलिब्रेटी' भएका हिसाबले सञ्चार माध्यममा उनीहरूको समाचारले प्रमुख स्थान पाउँछन् । केही समय ती सेलिब्रेटी आवद्ध भएको पार्टीका नेताहरू सँगसँगै क्रियाशील रहन्छन् । तर केही समयपछि त्यो चर्चा सेलाउँदै जान्छ। र केही समयपछि ती कलाकार अर्कै पार्टीमा प्रवेश गरे भन्ने सुन्न पाइन्छ। एकाध कलाकारले मात्र राजनीतिमा आएर संसदीय जिम्मेवारी पाएका छन् । तर ती कलाकार पनि राजनीतिकरूपमा सफल भने भएको पाइँदैन । 

कुनै राजनीतिक दलको महाधिवेशन होस् वा निर्वाचन् । यस्ता अवसरहरूमा सेलिब्रेटी कलाकारको राजनीतिक जीवन तथा उनीहरूको भूमिकाको बारेमा चर्चासमेत हुने गरेको छ। तर अहिलेसम्म कुनैपनि कलाकार पार्टीको महत्वपूर्ण पदमा भने त्यति पुगेको पाइँदैन। राजनीतिक दलका नेताहरूले सेलिब्रेटीलाई पार्टीमा आवद्ध गराएपनि राजनीतिकरूपमा भने उनीहरूलाई स्वीकार गरिसकेको अवस्था छैन । 

अहिले हामी स्थानीय निर्वाचनको संघारमै छौं। निर्वाचनको मिति नजिकिँदै गर्दा केही सेलिब्रेटी कलाकारहरूको चर्चा पनि चुलिएको छ। वैशाख ३० गते हुन गइरहेको निर्वाचनकै सन्दर्भमा पनि केही सेलिब्रेटी कलाकारले चर्चा पाएका छन्। अहिले सबैभन्दा बढी चर्चामा छन् इञ्जिनियर तथा र्यापर बालेन शाह । म बनाउँछु मेरो महानगर भनेर बालेनले उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार अभियान सञ्चालन गरेपछि त्यसको चर्चा चारैतिर चुलिएको छ। 

तर उनको उम्मेदवारीको विषयलाई लिएर नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिप्पणी गरेका छन् । उनले नेता बन्न इञ्जिनियर बन्न जस्तो सजिलो छैन भनेर टिप्पणी गरेपछि बालेनका समर्थकहरूले नेता थापाको विपक्षमा सामाजिक सञ्जालमा विरोधसमेत गरेका छन् ।

हामीकहाँ यस्तो बेला बेलामा भइरहन्छ। यसअघि नायिका रेखा थापा पनि यस्तै कुराको शिकार भएकी थिइन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा महामन्त्री पदको उम्मेदवार बनेकी रेखा थापालाई उनकै प्रतिस्पर्धी कुन्ती शाहीले रेखालाई राजनीतिको बारेमा थाहै नभएको भनेर हल्का टिप्पणी गरेकी थिइन् । 'उहाँ असाध्यै भ्रममा हुनुहुन्छ । किनभने राजनीति नै थाहा छैन विचरा । राजनीति भनेको त अब थाहा पाउनुहुन्छ', शाहीले रेखालाई लक्षित गर्दै भनेकी थिइन्, ‘चुनाव आउँदैछ जनताको माझमा जानुस् । फिल्म खेल्नजस्तो सहज राजनीतिमा हुँदैन ।’

गगन र कुन्तीको कुरा मात्र होइन । हामीकहाँ यस्तो बेला बेला भइरहन्छन् । नायिका करिश्मा मानन्धर नयाँ शक्ति पार्टी हुँदै अहिले नेकपा एमालेमा प्रवेश गरेकी छिन् । उनका विषयमा पनि यस्तै टिप्पणी हुने गरेका छन् । जसै निर्वाचन आउँछन् कलाकारहरुको उम्मेदवार बन्ने आकांक्षा बाहिरिने र चर्चा हुने गरेका छन्। तर मैदानमै उत्रिएको भने कमै पाइएको छ। अहिलेसम्म गायिका कोमल ओली राष्ट्रियसभाको सदस्य तथा एमालेको केन्द्रीय सदस्य बनेकी छिन् । उनी पनि राजावादी पार्टी राप्रपा हुँदै एमालेमा प्रवेश गरेकी हुन् । 

मान्छे भनेको चेतनशील प्राणी हो । उनीहरूले राजनीतिक चेत राख्नु स्वाभाविक हो । तर कलाकारको राजनीतिक चर्चा तथा राजनीतिक भूमिकाका सन्दर्भमा हाम्रो समाजमा खासै सकारात्मक टिप्पणी भने हुने गरेको पाइँदैन । 

कुनै राजनीतिक दलको महाधिवेशन होस् वा निर्वाचन् । यस्ता अवसरहरूमा सेलिब्रेटी कलाकारको राजनीतिक जीवन तथा उनीहरूको भूमिकाको बारेमा चर्चासमेत हुने गरेको छ। तर अहिलेसम्म कुनैपनि कलाकार पार्टीको महत्वपूर्ण पदमा भने त्यति पुगेको पाइँदैन।

राजनीति गर्दै आएका दलका नेताहरूले सेलिब्रेटीबारे गर्ने यस्ता टिप्पणीले के राजनीति गर्ने कठिन छ ? भन्ने प्रश्न भने जन्माएको छ। राजनीति पेशा त होइन तर पछिल्लो समय यसलाई पेशाको रूपमा बुझ्न थालिएको छ। विगतमा जहानीय राणा शासनको विरुद्धमा होस् वा निरङ्कुश पञ्चायती व्यवस्थाको विरुद्धमा भूमिगत राजनीति गर्नेहरूले ज्यानको माया मारेर पार्टी कामका निम्ती योगदान दिन्थे। त्यहाँ कुनै लाभ भन्ने कुरा नै हुँदैन थियो । हुन्थ्यो त केबल देश र जनताको पक्षमा योगदान । उनीहरू व्यक्तिगत जीवनलाई तिलाञ्जली नै दिएर भूमिगतरूपमा पार्टी काममा खटिन्थे । पार्टी कामको क्रममा मृत्यु भएमा सहिद, बाँचे पार्टी कामको निम्ती भन्ने गरिन्थ्यो । 

तर अहिले समय फेरिएको छ। सबै खुला राजनीतिमा आएका छन् । मुलुकमा गणतन्त्र आएको छ । आफ्नो कुरा व्यक्त गर्न र आफ्नो अधिकारका पक्षमा लड्न स्वतन्त्र छन् । त्यसैले राजनीतिमा नयाँ अनुहार देखिन थालेका छन् । राजनीतिक दलहरूले परिवर्तनका लागि लामो समय आन्दोलन गरे। तर अब मुलुकको आर्थिक, सामाजिक परिवर्तनका लागि काम गर्नुपर्ने बेला आएको छ। 

दलका नेताहरूले मुलुकको समृद्धिका लागि काम गर्ने बताउँदै पनि आएका छन् । तर समग्रतामा राजनीतक अस्तव्यस्तता र अन्यौल छ। त्यसैले पनि होला अब नयाँ अनुहार राजनीतिमा आउनुपर्छ भन्ने अभियान शुरु भएको छ। तर हाम्रो समाजले यसलाई सहजरूपमा स्वीकार भने गरिसकेको अवस्था छैन।  

अवसरवादीको चलखेल धेरै भयोः प्रा.डा. लोकराज बराल

राजनीतिक विश्लेषक प्रा.डा. लोकराज बराल राजनीति भनेको सामान्य कुरा नभएको बताउँछन्। अहिले स्थिति धेरै सहज भएपनि राजनीति जीवन बाँच्न निकै गाह्रो भएको उनको भनाइ छ। ‘अहिले पो धेरै सजिलो भएको छ। राजनीति भनेको धेरै अप्ठ्यारो दुःखदायी पनि छ। मान्छेले माथि पुगेको पैसा कमाएको गाडी चढेको नाम कमाएको देख्छन्’, विश्लेषक बराल भन्छन्, ‘तर जीवनभर त्याग गरेको कसैले देख्दैन । कहिले मरिन्छ भन्ने कुराको माया मारेर हिँडेका हुन्छन् । जीवनभर जेलनेल भोगेर आएका छन् । पहिले राजाको पालामा १७ सालपछि कति मान्छे मारिए कति जेलमा गए कति हतकडी लगाइए ।’ 

विगतमा राजनीतिज्ञहरूले निकै कठिन यात्राहरू तय गरेर आएको बताए । उनले भने, ‘त्यतिबेला धेरै गाह्रो थियो । त्यतिबेलाको कठिन परिस्थितीबाट पनि टिकेर आउनु भनेको धेरै ठूलो त्याग र संघर्ष हो ।’ तर अहिलेका सैद्धान्तिक धरातल नभएर हल्लाको भरमा कहिले कुन पार्टीमा त कहिले कुन पार्टीमा गर्नेहरूको चलखेल बढी भएको प्रा.डा. बरालले बताए । ‘अहिले भनेको चैँ स्वार्थको लागि यता कुद्याे उता कुद्यो चमेराहरू जस्तो । कुनै सैद्धान्तिक धरातल नभएको । अध्ययन नभएको । अहिले हेर्नुभएन कति फिल्म खेल्नेहरू पनि यताउति पार्टीमा लागेका । कुन पार्टीबाट कुन पार्टीमा गएका’, कलाकारप्रति लक्षित गर्दै बरालले भने, ‘त्यसकारण यसको कुनै ‘भ्यालु’ नै छैन । यो आउने जाने भइरहन्छन् । आए राम गए राम भइरहन्छन् । उनीहरूसँग कुनै सिद्धान्त हुँदैन । उनीहरू अवसरवादी हुन् ।’

अहिले पुरानो पुस्ताले काम गर्न सकेन नयाँ पुस्ता आउनुपर्छ भनेर पनि चर्चा हुने गरेको छ। तर राजनीतिक विश्लेषक बराल भने बुढाले सकेनन् युवाले गर्नुपर्छ भन्ने कुरा पनि ह्वीम मात्रै भएको बताउँछन् । लामो संघर्ष, ज्ञान, अनुभव, धैर्यताबाट मात्र सम्भव हुने बताउँदै उनले नयाँ आएर कायापलट नै गर्छन् भन्ने कुरा पनि सहि नभएको बताए । ‘हामी युवाले गर्छौं भन्ने कुरा बेकार हो । उनीहरूमा लगनशीलता छैन । धैर्यताको कमी छ । त्याग संघर्ष चाहिन्छ । दुःख गर्नुपर्छ । राजनीति गर्न सजिलो छ ? पैसा चाहिन्छ’, प्रा.डा. बरालले भने, ‘अहिले पो सजिलो छ त सबै जना स्वतन्त्र छन् । पहिले पहिले जेलनेल हत्कडी लगाइन्थे । कति वर्ष कुहिएर बस्नुपर्थ्यो । कोही मर्थे । त्यसकारण यी कुरा गर्नेहरू अवसरवादी हुन् । केही पनि होइन । नयाँ आएर टिक्नुपर्यो नि । तपश्या गर्नुपर्यो नि । गरेर देखाउनु पर्यो नि ।’

अभिमत प्राप्त गर्ने कुरालाई प्रोत्साहित गर्नुपर्छः प्राध्यापक केसी
निर्वाचनमा आएर जनताको अभिमत प्राप्त गर्न खोज्नु भनेको सकारात्मक विषय भएको राजनीतिक विश्लेषक प्राध्यापक खड्ग केसीको भनाइ छ। उनले भने, ‘पारदर्शिता उत्तरदायित्व र स्वच्छ प्रशासनका कुरा गर्न त्यो उद्देश्य र प्रतिवद्धताका साथ कलाकारहरू निर्वाचनमा आएर जनताको अभिमत प्राप्त गर्ने कुरालाई हामीले उत्साहित गर्नुपर्छ।’

नेपालमा राष्ट्रियसभाको प्रावधान राखेकाले समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरू कलाकार, साहित्यकारलाई उपल्लो सदनमा ल्याएर उनीहरूका ज्ञान, सीप, अनुभवलाई राष्ट्रको नीति निर्माणमा उपयोग गर्न सकिने बताउँदै प्राध्यापक केसीले संसारका थुप्रै मुलुकमा कलाकारिता क्षेत्रबाट आएका व्यक्तिहरू सफल भएको उदाहरण प्रशस्तै रहेको बताए । ‘संसारका थुप्रै मुलुकहरूमा कलाकारिताबाट आएर स्थापित भएका छन्। राजनीति गर्ने कार्य गाह्रो हो । अन्य क्षेत्रबाट आएका व्यक्तिहरू राजनीतिमा स्थापित हुन सक्दैनन भन्ने कुरा म मान्न सक्दिनँ’, प्राध्यापक केसीले भने, ‘राजनीति विभिन्न राजनीतिक संस्कार चरित्रका कारणले निर्धारण गर्छ। कलाकारितामा लागेका समाजका प्रतिष्ठित व्यक्तिलाई संसदको माथिल्लो सदनमा लगेर नीति निर्माणमा प्रयोग गर्नुपर्छ।’

Skip This
Skip This
Logo