दुई अध्यक्षको कसरी मन मिल्यो ? के छ बुधबारको सहमतिमा ?

दुई अध्यक्षको कसरी मन मिल्यो ? के छ बुधबारको सहमतिमा ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष बीचको भेटवार्ता सकारात्मक बनेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता सकारात्मक बनेको हो । उक्त भेटमा पार्टीभित्र लामो समयदेखि सतहमा आएको विवाद साम्य पार्न दुई अध्यक्ष सफल भएका छन् । सोही सहमतिलाई भोलि (शुक्रबार) बस्ने स्थायी कमिटी बैठकमा प्रस्तुत गरिनेछ ।

यस्ता छन् दुई अध्यक्षबीच भएका सहमतिका मुख्य बुंदाहरु
-अध्यक्ष ओलीले प्रतिनिधि सभाको पूरा कार्यकाल चलाउने
-अध्यक्ष दाहाल कार्यकारी अध्यक्षको हैसियतमा रहेर पार्टीको काम गर्ने
-दुई अध्यक्षद्वयले पार्टी र सरकार बीचको सम्बन्धलाई संस्थागत रुपमा अगाडि बढाउने
-आवश्यकता अनुसार मन्त्रिमण्डल पुनर्गठन गर्ने
-सामाजिक सञ्जालमा नेता तथा कार्यकर्ता विरुद्ध जथाभावी लेख्न र पार्टीहित विपरित गतिविधि गर्न निरुत्साहित गर्ने
-एकता महाधिवेशन चैत्र २५ देखि ३० गतेसम्म गर्ने
-केन्द्रीय कमिटीको बैठक कात्तिक १५ देखि १७ गतेसम्म बस्ने
-संसदीय दलको कार्यालय एउटै बनाउने
-सीमा विवाद समाधान गर्न भारतीय पक्षसँग सरकारले कुटनीतिक पहल गर्ने
-नेताका नाममा सञ्चालनमा आएका प्रतिष्ठानहरु सञ्चालन, व्यवस्थापन तथा नियमन गर्न कार्यदल गठन गर्ने
-एमसीसी सम्झौतामा स्थायी कमिटी र सचिवालयमा घनिभूत छलफल गरेर मात्र अगाडि बढ्ने

दुई अध्यक्षबीच भएको सहमतिमा प्रधानमन्त्री ओली सरकारका काममा केन्द्रित हुने र प्रचण्डले पार्टी सञ्चालन गर्ने उल्लेख गरिएको छ । साथै दुई अध्यक्षद्वयले पार्टी र सरकार बीचको सम्बन्धलाई संस्थागत रुपमा अगाडि बढाउने काम गर्न समेत ओली दाहाल सहमत भएका छन् । सहमतिको उक्त प्रस्ताव सबै स्थायी समिति सदस्यहरुलाई अध्ययनका लागि उपलब्ध गराइएकोे छ । पार्टीलाई विधि र प्रक्रियाको आधारमा सञ्चालन गर्न, र कात्तिकदेखि महाधिवेशनको तयारी थाल्न ओली र प्रचण्ड सहमत भएका छन् । साथै, चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्नका लागि कात्तिक १५ देखि १७ गते केन्द्रीय कमिटीको बैठक राख्न पनि दुई अध्यक्ष सहमत भएका छन् ।

त्यस्तै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई स्थायी कमिटी र सचिवालयमा घनिभूत छलफल गरेर मात्र अगाडि बढाउन दुई अध्यक्ष सहमत भएका छन् ।

त्यस्तैगरी पार्टीभित्र विद्यमान गुट उपगुटलाई कडाइका साथ अन्त्य गर्ने निर्णय समेत दुई अध्यक्षले गरेका छन् । ‘पार्टीलाई गुटले विस्थापित गर्न खोज्ने, गुट–गुटका अलग–अलग बैठक बस्ने, निर्णय गर्ने र सार्वजनिक रुपमा आरोप–प्रत्यारोपमा उत्रिने जस्ता गलत अभ्यासहरुलाई कडाइका साथ नियन्त्रण गर्नुपर्नेमा ओली–दाहाल सहमत भएका छन् । त्यस्तै पार्टीको नीति, नेता र कार्यकर्ताका विरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टीहित विपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइकासाथ रोक्नु पर्नेमा समेत ओली–दाहाल सहमत भएका छन् ।

केन्द्रीय आयोगहरु, केन्द्रीय सल्लाहकार परिषद्, जेष्ठ कम्युनिस्ट मञ्च, पोलिटब्युरो, केन्द्रीय विभागहरु, प्रदेश र स्थानीयतहका कमिटीहरु, जनवर्गीय संगठहरु र प्रवास क्षेत्रको संगठनात्मक एकीकरणका साथै सम्पत्ति र अभिलेखको समेत एकीकरण सम्पन्न गर्ने प्रस्तावमा उल्लेख । साथै, दुई अध्यक्षले मन्त्रिपरिषद्, प्रदेश मन्त्रिपरिषद् पुनगर्ठन गर्ने पनि सहमति गरेका छन् । मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुने गरी मापदण्ड निर्धारण गर्ने सहमति भएको छ ।

केन्द्रीय कमिटी, स्थायी कमिटी वा सचिवालयमा संस्थागत रुपमा छलफल गरेर मात्र संसदसमक्ष प्रस्तुत गरिने विधेयकका सैद्धान्तिक पक्ष र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका नीतिगत विषयमा पार्टीको धारणा तय गर्ने प्रस्तावमा उल्लेख छ । साथै पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान गुटबन्दीको केन्द्रबिन्दु बनेको भन्दै त्यसलाई नियमन गरिने भएको छ भने तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको हैसियतमा रहेको संसदीय कार्यालयलाई विघठन गरेर एउटै बनाइने भएको छ । त्यस्तै दक्षिणी छिमेकी मुलुक भारतसँगको सीमा विवाद मिलाउन सरकारले कुटनीतिक पहल गर्नेमा समेत ओली–दाहाल सहमत भएका छन् ।

Logo