पूर्वराजदूत शेर्पासहित बुद्धिजीवी देवकोटा माओवादी छाडेर एमाले प्रवेश

पूर्वराजदूत शेर्पासहित बुद्धिजीवी देवकोटा माओवादी छाडेर एमाले प्रवेश

केन्द्रबिन्दु
0
Shares

माओवादी केन्द्रका चर्चित नेताहरू एमालेमा प्रवेश गरेका छन् । माओवादी पोलिटब्युरो सदस्य तथा प्रमुख केन्द्रीय सहकारी विभाग धर्मदत्त देवकोटा, पूर्व राजदूत लक्की शेर्पा, पूर्वमेयर शालिकराम पौडेल, सागर ढकाल, डा.ल्हाक्पा शेर्पा, कोषबहादुर जिसीले माओवादी छाडेका हुन् ।

उनीहरूलाई शुक्रबार एमाले अध्यक्ष केपी ओलीले पार्टी मुख्यालय च्यासलमा पार्टी प्रवेश गराए । माओवादी अध्यक्ष पुष्पकमल दाहालको अवसरवादी, महत्वाकाक्षी, नीतिगत तथा सांगठानिक अराजकता एवं दलाल नोकरशाही, अस्थिर राजनीतिक चरित्रका कारण देशमा दक्षिणपन्थी, पूँजीवादी शक्तिको पिछलग्गुको रुपमा कम्युनिस्ट आदर्शविपरीतका कदमप्रति पूर्णतः असहमति रहेकाले पार्टी त्याग गरेको उनीहरूले घोषणा गरेका छन् ।

एमाले प्रवेस गरेकी शेर्पा पहिलो संविधानसभामा एमालेबाट सदस्य भएकी थिइन् । पछि भने नेकपा माओवादी प्रवेश गरिन् । पहिलो संविधानसभापछि लक्की शेर्पाले रामचन्द्र झासँगै एमाले छाडेर माओवादी प्रवेश गरेकी थिइन् । दोस्रो संविधानसभामा माओवादीको सिट कम आएकाले लक्की सभासद् बन्न पाइनन् । तर, प्रचण्डले उनलाई अस्ट्रेलियाको राजदूत बनाए ।

अस्ट्रेलियाको राजदूत रहेकै अवस्थामा शेर्पामाथि उनकै चालक वाड्चु शेर्पाले पैसा लिएर आफूलाई अस्ट्रेलिया ल्याएको आरोप लगाएपछि अचानक विवादमा परेकी थिइन्। त्यसपछि तत्कालीन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले शेर्पाका विषयमा लागेको आरोपमाथि सत्य तथ्य बुझ्न काठमाडौँ बोलाएका थिए ।

२०७५ मङ्सिर २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेर्पालाई राजदूतबाट फिर्ता बोलाएको थियो । एमाले नेतृत्वको सरकारले फिर्ता बोलाएको तिनै शेर्पा आज एमालेमा प्रवेश गरेकी हुन् । 
 

Logo