प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागी उम्मेदवारी फिर्ता लिन आफ्ना नेता-कार्यकर्तालाई आग्रह गरेका छन्। बिहीबार देउवाले अपील जारी गर्दै गठबन्धनका उम्मेदवारलाई सघाउन आग्रह गरेका हुन् ।
संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई परास्त गर्न कांग्रेससहित पाँच दलले गठबन्धन गरेको उनले बताएका छन् । उनले भनेका छन्, ‘देशभरका स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र वडा अध्यक्ष, सदस्य पदमा पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका पार्टीका साथीहरूले देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरि आ-आफूले दर्ता गराउनु भएको स्वतन्त्र उम्मेदवारी निर्वाचन आयोगले तोकेको समय (२०७९ वैशाख १६ गते बेलुकी ५ बजेभित्र) सम्बन्धित तहको निर्वाचन अधिकृतको कार्यालयमा गई फिर्ता लिई दिनु हुन र पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण सक्रियताका लागि हार्दिक अपील गर्दछु।”
कतिपय योग्य व्यक्तिले टिकट नपाएकोमा उनले चिन्ता जनाएका छन् । ‘एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थितिप्रति म जानकार छु’, देउवाले भनेका छन्, ‘तर पार्टीको विजयका लागि ‘साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी’ भन्ने उच्चतम भावना राख्न र नेपाली कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसँग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपील गर्दछु।’
सभापति देउवाको अपिल
आदरणीय साथीहरू,
मुलुकमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, नयाँ संविधानको रक्षा तथा लोकतन्त्रका आधारभूत मूल्य मान्यताको संरक्षण र सुदृढीकरण गर्न तथा लोकतन्त्र विरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई परास्त गरी देश, संविधान र गणतन्त्रलाई जोगाउन मुलुकमा लोकतान्त्रिक र परिवर्तनकारी शक्तिहरूका बीचमा तालमेल र सहकार्य गरी मुलुकलाई राजनीतिक स्थायित्व र सहज निकास दिनु पर्ने यथार्थतालाई आत्मसात गर्दै, प्रतिगमनलाई परास्त गरि राष्ट्रको सर्वाङ्गीण र अग्रगामी विकास र समृद्धिका लागि आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा. (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पाँच दलका बीचमा देशभर नै स्थानीय अवस्था अनुसार चुनावी तालमेल गर्ने र संविधान विरोधी तथा लोकतन्त्र विरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरी स्थानीय तहका निकायसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारहरूलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधार स्तम्भहरूलाई मजवुद बनाउनु आजको सर्वाधिक आवश्यकता हो ।
एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थिति प्रति म जानकार छु। तर, पार्टीको विजयका लागि “साथीको उम्मेदवारीनै मेरो उम्मेदवारी” भन्ने उच्चतम भावना राख्न र नेपाली कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसँग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु ।
यसर्थ, पाँच दलीय गठवन्धनको अपरिहार्यतालाई आत्मसात गर्दै, नेपाली कांग्रेस पार्टीकै नेतृत्वमा पाँच दलका बीचमा भएको स्थानीय तहको निर्वाचन सम्बन्धी तालमेलका विषयमा पाँच दलीय गठबन्धनको पटक–पटक बसेको बैठकले गरेका निर्णय कार्यान्वयनका लागि केन्द्रीय कार्यालय मार्फत पार्टीका देशभरका सातवटै प्रदेश कार्यसमिति, ७७ रै जिल्ला कार्यसमिति र सबै प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति लगायत पार्टीका सबै तह र निकायलाई निर्देशन गरिएको र पार्टीका सबै सदस्यहरूलाई अनुरोध र आह्वान गर्दा गर्दै पनि, पाँच दलीय गठबन्धनको निर्णय र सहमति अनुसार, पार्टीका उम्मेदवार र गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउने अभियानमा सक्रिय हुनु पर्नेमा, त्यसको विपरित पार्टीकै साथीहरूबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएको र गठबन्धन गरिएका दलहरूका बिचमा भएको सहमति अनुसार उम्मेदवारी छाड्नु पर्ने स्थानमा समेत उम्मेदवारी दर्ता गराएको पाइएकोले,
देशभरका स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र वडा अध्यक्ष, सदस्य पदमा पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका पार्टीका साथीहरूले देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरी आ–आफूले दर्ता गराउनु भएको स्वतन्त्र उम्मेदवारी निर्वाचन आयोगले तोकेको समय (२०७९ वैशाख १६ गते बेलुकी ५ः०० बजेभित्र) सम्बन्धित तहको निर्वाचन अधिकृतको कार्यालयमा गई फिर्ता लिई दिनु हुन र पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण सक्रियताका लागि हार्दिक अपिल गर्दछु ।
जय नेपाल !
शेरबहादुर देउवा
सभापति





























प्रतिक्रिया