संघीय संसद्को बजेट अधिवेशन आजदेखि

संघीय संसद्को बजेट अधिवेशन आजदेखि

केन्द्रबिन्दु
0
Shares

संघीय संसद्को बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। चुनावका कारण यस पटक बजेट अधिवेशन केही ढिला गरी प्रारम्भ हुन लागेको हो ।

अघिल्ला वर्षहरूमा अधिवेशन वैशाख तेस्रो सातासम्म प्रारम्भ भइसक्थ्यो । मङ्गलबार अपरान्ह ४ बजेबाट संसद्का दुवै सदनको बैठक प्रारम्भ हुनेछ। ढिला गरि अधिवेशन आह्वान भएकाले यस पटक बजेटका प्राथमिकता र सिद्धान्तको छलफल नियम निलम्बन गरेर अघि बढाउने तयारी गरिएको छ ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले अधिवेशनको तयारी पूरा भइसकेको बताए । उनकाअनुसार सदनको सिट व्यवस्थापन यसअघिकै जस्ताे कोभिडको प्रोटोकल अनुसार नै हुनेछ । अधिवेशन प्रारम्भसँगै सरकारका तर्फबाट बजेटको सिद्धान्त र प्राथमिकता पहिलो बैठकमै पेस गर्ने तयारी छ ।

अधिवेशनको पहिलो बैठकमा अध्यादेश पेस हुनेछ। अधिवेशन सिफारिसकै दिन सरकारले दुई अध्यादेश जारी गरेको थियो । औषधि (तेस्रो संशोधन) अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख २५ गते अध्यादेश जारी गरेकी थिइन् । यस्तै मङ्गलबारको बैठकमा अध्यक्ष मण्डलको घोषणा पनि हुनेछ ।

अधिवेशनसँगै यस पटक जेठ ४ गतेदेखि बजेटको सिद्धान्त र प्राथमिकतामा छलफल गराउने तयारी छ । मंगलबारकै बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले प्रस्ताव पेस गर्नेछन् । जेठ ४ र ५ गते छलफल गर्ने तयारी छ। सो छलफलका लागि प्रतिनिधि सभा नियमावली २०७५ को नियम १४२ (४) गर्नुपर्नेछ । नियम १४२(४) ले सदनमा बजेट पेसभन्दा कम्तीमा १५ दिनअघि प्री–बजेट छलफल सक्नुपर्ने व्यवस्था गरेको छ।

जेठ ३ देखि मात्र अधिवेशन प्रारम्भ हुने भएपछि नियमावलीले तोकेको उक्त समयसीमा पूरा नहुने भएकाले नियम निलम्बन गर्ने तयारी गरिएको हो। यस्तै सचिवालयले जेठ ७ गते संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरेको छ। सरकारसँगको परामर्शमा नीति कार्यक्रममा लागि ७ गतेको बैठक तय गरिएको हो। सरकारका तर्फबाट राष्ट्रपतिले नीति कार्यक्रम पेस गर्ने व्यवस्था छ।

यस अधिवेशनमा प्रतिनिधि सभामा बजेटसँग विधेयकको पनि चाप छ। कतिपय विधेयक दुई वर्षभन्दा लामो समयदेखि विचाराधीन छन्। सङ्घीय संसदमा कुल ५५ विधेयक विचाराधीन छन् । जसमा प्रतिनिधि सभामा ४२ र राष्ट्रिय सभामा १३ विधेयक छन्।

Logo