कांग्रेसले जबाफदेहिता र इमानदारिता देखाउन सकेन: मेटमणि चौधरी

कांग्रेसले जबाफदेहिता र इमानदारिता देखाउन सकेन: मेटमणि चौधरी


नेकपा(एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले पाँच दलीय गठबन्धनमा इमानदारिता नदेखिएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा सहभागी हुन संसद् भवन पुगेका सांसद चौधरीले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गठबन्धनमा इमानदारिता नदेखिएको बताएका हुन् । उनले नेपाली कांग्रेसले जबाफदेहिता र इमानदारिता देखाउन नसकेको बताए । माओवादी पार्टी व्यापारिक मानिसले जस्तै फाइदा हुनेतिर मात्रै ढल्किएको उनले आरोप लगाए । निर्वाचन मत परिणामबाट आफूहरू सन्तुष्ट हुन नसकेको उनले बताए । उनले भने – ‘चुनावी मत परिणाममा हामी सन्तुष्ट छैनौँ । जुन तरिकाले पाँच दलीय गठबन्धनमा इमानदारिता हुनुपर्थ्यो, त्यस्तो देखिएन । नेपाली कांग्रेसले जुन तरिकाको जबाफदेहिता, इमानदारिता देखाउनुपर्थ्यो त्यो देखाउन सकेन । माओवादी पार्टीले आफु एउटा बिजनेस म्यानको जस्तै चार पैसा फाइदा कता हुन्छ, उतैतिर ढल्किने यहाँसम्मकी कुनै ठाउँमा एमालेसँग समेत समन्वय गर्‍यो। कांग्रेसले पनि त्यो खालको व्यवहार गर्‍यो । त्यसैले हामीले जुन खालको रिजेल्ट अपेक्षा गरेका थियौँ त्यो खालको रिजेल्ट आउन सकेन ।’

उनले कांग्रेस र माओवादी सच्चिएमा मात्र गठबन्धनलाई अगाडी बढाउन सकिने बताए । नैतिकताको राजनीति नगर्ने र भनेको कुरा नगर्ने पार्टीहरूसँग अगाडी जान नसकिने उनले बताउनुभयो । उनले भने – ‘कांग्रेस र माओवादीले आफूलाई करेक्सन गर्ने ठाउँमा पुगे भने ठिकै छ फेरी पनि अगाडी जान सकिन्छ । नभए यस्तो फटाहा गिरी, इथिक्सको राजनीति नगर्ने, जे भनिन्छ त्यो नगर्ने भएपछि त्यस्ता राजनीतिक दलसँग कसरी अगाडी जान सकिन्छ ?’

उनले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)का बीचमा मात्रै गठबन्धन भएको जिकिर गरे । पाँच दलीय गठबन्धनलाई सफल भएको मान्न नसकिने उनले बताए । 

Logo