जित्ने पक्का भएपछि संघीय सरकारसँग बजेट माग्न धनराज आचार्य काठमाडौंमा

जित्ने पक्का भएपछि संघीय सरकारसँग बजेट माग्न धनराज आचार्य काठमाडौंमा


एमालेले आफ्नो गढ दाबी गरेका पोखरा महानगरपालिकाका बडाहरूको मत गणना चलिरहेको थियो । १५, १६, १७, २१ र ३३ लगायत वडामा करिब दोब्बर मतले यसअघि एमालेले जितेका थिए । ती वडा आई पुग्नुअघि केही मतले मात्र धनराज आचार्यले अग्रता लिएका थिए । सबैको ध्यान यिनै वडाहरूमा थिए कि यहाँबाट एमालेले लिड गरे चुनाव जे पनि हुन सक्छ ।

यस्तै अन्योलकाबीच गठबन्धनबाट मेयर उम्मेदवार धनराज आचार्य आइतबार काठमाडाैं गए । पोखराका प्रमुख योजनाहरू संघीय सरकारलाई बुझाए । विशेष गरी ल्यान्डफिल साइट स्थानान्तरण गर्न उनको माग छ । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न ल्यान्डफिल हटाउनु पर्ने पहिलो सर्त छ ।

अघिल्ला जनप्रतिनिधिले पाँच वर्षे कार्यकालमा गर्न नसकेको ल्यान्डफिल सार्ने योजनामा अहिले गठबन्धनका उम्मेदवारले पहिलो चासो दिए । त्यहाँबाट ल्यान्डफिल सार्न आवश्यक बजेट मागेको आचार्यले बताए । `पोखराको प्रमुख चिन्ता ल्यान्डफिल हो । यो सार्नुपर्छ,´ उनले भने, `अहिले संघ सरकारले बजेट बनाउँदै छ। यही वर्ष बजेट नहाले ढिलो हुन्छ । त्यसैले अर्थमन्त्रीसँग आग्रह गरेर आएको छु ।´

उनले पोखरालाई पर्यटकीय राजधानी घोषणाको माग राखेर आएका छन् । `पोखरा पर्यटनको राजधानी हो । मौखिक रूपमा सबैले भनेका छन् तर आधिकारिक घोषणा किन नगर्ने ?´ उनी भन्छन्, `यसपालि नीति तथा कार्यक्रममा यो एजेन्डा राख्नुपर्छ भनेको छु । सायद सम्बोधन हुन्छ ।´ पोखरामा मतगणना जारी छ । अब तीन हजार मत गन्न बाँकी छ । चुनाव जित्ने पक्का भएकै कारण काठमाडाैं पुगेर बजेट छुट्याउन आग्रह गरेको उनले बताए । आचार्यले अहिले चुनाव जितिसकेका छन् । गणना गर्न बाँकी मतभन्दा उनको अग्रता बढी भएपछि चुनाव जितेका हुन् ।

 

Logo