कांग्रेसको विभागमा गरिएको नियुक्तिमा पार्टीभित्रै असन्तुष्टि

कांग्रेसको विभागमा गरिएको नियुक्तिमा पार्टीभित्रै असन्तुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालका सबैजसो राजनीतिक दलहरुमा केही न केही आन्तरिक विवादहरु देखिएका छन् । कतिपय दलका विवादहरु सतहमा आएका छन् भने कतिपय दलको विवाद भित्रभित्रै भुसको आगो जस्तो फैलिरहेको छ । यतिबेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा पनि विवाद देखिएको छ । एकातिर १४ औँ महाधिवेशन निर्धारित समयमा होला कि नहोला भन्ने विषयले कांग्रेसमा हलचल मच्चाएको छ भने पछिल्ला केही हप्तायता सभापति शेरबहादुर देउवाले विभिन्न विभागहरुमा आफूखुशी मनोनित गरेको आरोप पनि लागेको छ ।

यसै सन्दर्भमा बिहीबार कांग्रेस केन्द्रीय सदस्य एवं शुभेच्छुक संस्था समन्वय विभागका प्रमुख एनपी सावदले पार्टी सभापति शेरबहादुर देउवासँग कुनै सल्लाह नै नगरि विभागको उपप्रमुख र सदस्यमा विवादास्पद व्यक्तिलाई मनोनयन गरेपछि यसले पार्टीमा मात्र नभएर बाहिर पनि आलोचना भइरहेको छ । यसले सम्बन्धित विभागलाई मात्र नभएर समग्र पार्टीलाई नै समस्यामा पार्ने भन्दै यस्तो निर्णय फिर्ता लिन पार्टीभित्रैबाट माग उठिरहेको छ भने नेपाली कांग्रेस जस्तो पार्टीले किन विवादित व्यक्तिलाई संरक्षण दिइरहेको छ भन्दै बाहिर चर्चा चुलिएको छ ।

यस विषयमा पार्टी सभापति देउवासँग शुभेच्छुक संस्था समन्वय विभाग प्रमुख एनपी सावदले कुनै सल्लाह नै नगरि आफ्नो व्यक्तिगत सम्बन्धका कारण यसरी सिफारिस गरेको कांग्रेसका एक केन्द्रीय सदस्यले केन्द्रबिन्दुलाई बताए । यसमा सभापति देउवाले जिम्मेवारी त लिनु पर्ला नि भन्ने जिज्ञासामा ती सदस्यले सभापतिले यसको नैतिक जिम्मेवारी लिनु पर्ने भए पनि यसमा देउवालाई फसाउने नियत देखिएको दाबी गर्छन । मनोनयन गरिसकेको विवादित व्यक्तिलाई फिर्ता गर्न पनि सकिएला नि त भन्ने प्रश्नमा उनले यो विषय अब केन्द्रीय समितिमा पुग्ने र केन्द्रीय समितिको निर्णय नै अन्तिम हुने बताए ।

बिहीबार सावदले उपप्रमुखमा बैंकिङ कसुरको मुद्दा खेपीरहेका विष्णु धिताल र सदस्यमा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्लेलाई मनोनयन गरेका थिए । यस्तै पार्टीको क्रियाशिल सदस्यनै नरहेका हेमन्त मल्ललाई पनि सदस्यमा मनोनयन गरेका थिए । धिताल र काफ्लेसँग सावदको निकट सम्बन्ध रहेको बुझिएको छ । मल्ल भने कांग्रेस छोडेर नेपाल दर्शन पार्टीको समानुपातिक उम्मेदवार हुँ भन्दै दाङ्गबाट भुँईंकटहर चुनाव चिन्हमा भोट माग्दै हिँडेका व्यक्ति रहेको बताइएको छ ।

यसरी सर्वत्र आलोचना भएपछि देउवाले सावदलाई फोन गरेर विवादास्पद व्यक्तिलाई किन विभागको जिम्मेवारी दिएको भनेर सोधेका छन् । उता कांग्रेसकै अर्को समूह रामचन्द्र पौडेल पक्षले भने सभापति देउवा नै यसमा दोषी रहेको आरोप लगाउँदै आएको छ । पौडेल पक्षले आज भर्चुअल बैठक गर्दै सभापति देउवाले आफूखुशी मनोनय गरेको भन्दै आपत्ति जनाएको छ ।

पौडेल पक्षको आजको बैठकमा सभापति देउवाले पार्टीको विधि उल्लंघन गरेकाले सुरुमा निर्णय सच्याउन अल्टिमेटम दिने र सो अनुसार नभए धर्ना र अनशन बस्नेसम्मका विषयमा छलफल भएको बताइएको छ । देउवाले बुधबार र बिहीबार मात्र २ सय ९६ जनालाई मनोनयन गरेका छन् । उनले हालसम्म २० विभागमा ९ सयभन्दा बढी नेता, कार्यकर्ताहरुलाई मनोनयन गरिसकेका छन् । यसरी मनोनयन गरिएको विषय सभापतिको एकलौटी निर्णय भएको भन्दै पौडेल पक्ष विरोधमा उत्रदै  आएको छ ।

Logo