पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले संकटग्रस्त अर्थतन्त्रलाई उकास्नेगरि नीति तथा कार्यक्रम नल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले अर्थतन्त्र सामान्य अवस्थामा भएजसरी सरकार प्रस्तुत भएको पनि बताए।
१० जेठमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा शनिबार सहभागी हुँदै पौडेलले अर्थतन्त्र उकास्ने र आर्थिक वृद्धिदर उच्च पार्ने कुनै योजना नै नभएको भन्दै सरकारको चर्को आलोचना गरे।
‘संकटोन्मुख अर्थतन्त्र यतिबेलाको सबैभन्दा ठूलो समस्या हो, चुनौती हो । तर, नीति तथा कार्यक्रम संकट समाधानप्रति बेखर छ । संकटोन्मुख अर्थतन्त्रबारे सरकार चालै नपाए जस्तो गरेर अर्थतन्त्र सामान्य अवस्थामा भएजसरी प्रस्तुत भएको छ’, उनले भनेका छन्, ‘अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने, प्रतिस्पर्धी बनाउने र कसरी आर्थिक वृद्धिदर उच्च बनाउने भन्ने कुनै नीति सरकारसँग छैन।'
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई दिशाहीन र गन्तव्यहीन भएको उनको टिप्पणी छ। नीति तथा कार्यक्रमलाई इतिहासकै सबैभन्दा कमजोर, मुलुकको समस्या नचिनेको ,समाधान दिन नसक्ने खोक्रो र सारहीन भएको पनि उपाध्यक्ष पौडेलले बताए ।





























प्रतिक्रिया