पाँच दलीय गठबन्धन तत्कालै भत्किँदैन : उपेन्द्र यादव

पाँच दलीय गठबन्धन तत्कालै भत्किँदैन : उपेन्द्र यादव

केन्द्रबिन्दु
0
Shares

सत्ताघटक जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धन आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि कायम रहने बताएका छन्।

जनकपुरधाममा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले लोकतन्त्रको रक्षा, राजनीतिक स्थायित्व र लोकतन्त्रलाई मजबुत बनाउन गठबन्धनलाई अझै कायम राख्नुपर्नेमा जोड दिए।

लोकतन्त्रको रक्षा र राजनीतिक सङ्कटको निकासका लागि गठबन्धन कायम रहने उनको भनाई थियो। 'गठबन्धन गर्दा कुनै दललाई कहिलेकाँही घाटा हुन्छ, कहिले नाफा हुन्छ। सिटको नाफा र घाटाको हिसाब गरेर गठबन्धन गर्ने होइन, मुख्य त लोकतन्त्रको रक्षा, राजनीतिक सङ्कटको निकास र लोकतन्त्रको मजबुतीका लागि गठबन्धन गरेर जाने हो', उनले भने, 'त्यसैले तत्काल पाँच दलीय गठबन्धन भत्किँदैन, अझै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म गठबन्धन कायम रहन्छ।'

अर्को प्रसङ्गमा नेता यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता विगतको समीक्षा गरी फर्किन चाहे आफूहरू स्वागत गर्न तयार रहेको बताए। उनले भने, 'विगतको समीक्षा गरी पुनःपार्टी एकता गर्न लोकतान्त्रिक समाजवादी पार्टीका नेता आउनुभयो भने हामी हृदयदेखि स्वागत गर्न तयार छौँ। फुटेर होइन जुटेर जानु अहिलेको आवश्यकता हो। त्यसैले हामी उहाँहरूलाई विगतको समीक्षा गरी एकतालाई फर्किन आग्रह गर्दछौँ।'

हिजो पार्टी फुट्नुको कारण र त्यसका कारण भएको क्षतिको समीक्षा आवश्यक रहेको उनको भनाई थियो। उनले भने, 'हिजो पार्टी किन फुटाइयो? विभाजनले कसलाई फाइदा भयो ? त्यसको समीक्षा गर्नु जरुरी छ।' ठूलो सङ्ख्यामा नागरिक मताधिकारबाट बञ्चित भइरहेको भन्दै उनले अहिलेकै प्रतिनिधिसभाको बैठकबाट नागरिकतासम्बन्धी विद्येयक पारित गरी नागरिकताविहीनलाई नागरिकता उपलब्ध गराउनुपर्ने समेत बताए।

Logo