लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले पार्टी सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्रीसँग कुरा नभएको बताएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सांसद कर्णले लोसपाले सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नगरेको स्पष्ट पारे । उनले प्रधानमन्त्री देउवाले पनि आफुहरुलाई मन्त्री हुन आउन नभनेको बताए ।
कर्णले भने– ‘हामीले प्रधानमन्त्रीसँग कुरै नगरेको । प्रधानमन्त्रीले हामीलाई मन्त्रीमा आउ भन्दै नभनेको कुरो तपाईहरु बिस्तृत रुपमा प्रचार गरिराख्नु भएको छ ।’
सांसद कर्णले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बाटो– बाटोबाट लोकतान्त्रिक समाजवादी पार्टीलाई एकीरणका लागि आव्हान गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । अध्यक्ष यादवले विगतमा आफुहरुलाई पार्टीबाट निकालेको र पार्टी फोड्नका लागि निर्वाचन आयोगमा निवेदन दिएको भन्दै कर्णले अहिले संकटमा परेकाले सहयोग खोजेको दाबी गरे । अध्यक्ष यादवको संकट निवारण भएपछि लखेट्ने प्रवृत्ति रहेको उनको भनाइ छ ।
उनले भने– ‘बाटोमा उहाँ बोलिराख्नु भएको छ । हामीसँग कुनै कुरा गर्नुभएको छैन । हामी उहाँको पार्टी फुटिराख्दाखेरी एकिकरण गरेर जोगाएको होइन ? त्यसमा म समेत महन्थ ठाकुरलाई उहाँले निकाल्दिएको होइन ? पार्टी फोड्नलाई आधिकारिकताको निवेदन दिएको होइन ? अनि के को मेल ? आज फेरी पार्टीमा संकट उत्पन्न भएको छ उहाँको । संकट उत्पन्न भयो भने हाम्रो सहयोग खोज्ने । र संकट निवारण भएपछि लखेट्दिने । अनि अहिले आएर फेरी बाटो बाटोमा कुरा सुनिराखेको छु एकिकरणको । के को लागि एकिकरण ? किन एकिकरण ? हामीसँग उहाँले कुनै कुरा गर्नुभएको छैन ।’
सांसद कर्णको प्रश्न थियो औपचारिक रुपमा एकिकरणको प्रस्ताव नआएको उल्लेख गर्दै के को लागि ? र किन एकीकरण गर्नुपर्ने हो ?
प्रतिक्रिया