मोरङको जिल्ला समन्वय समितिमा एमालेको प्यानलै विजयी

मोरङको जिल्ला समन्वय समितिमा एमालेको प्यानलै विजयी

केन्द्रबिन्दु
0
Shares

मोरङको जिल्ला समन्वय समिति (जिसस) मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ ।
विराटनगरमा मंगलबार भएको निर्वाचनबाट प्रमुखमा अजम्बर राई र उपप्रमुखमा उषा झा २१/२१ मत ल्याएर विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
कांग्रेसबाट प्रमुखको उम्मेदवार रहेका जितेन्द्र अग्रवाल र उपप्रमुख उम्मेदवार निलमकुमारी सरदारले १३/१३ मत मात्रै ल्याएका छन् । महिला सदस्यमा एमालेका उम्मेदवारहरु उमा नेपाली, उर्वशीकुमारी थारु र हरिमाया विश्वकर्मा विजयी भएका छन् । उनीहरुमध्ये नेपालीले २३, थारु र विश्वकर्माले २१/२१ मत प्राप्त गरे ।

कांग्रेसका तर्फबाट महिला सदस्यको उम्मेदवार रहेका गीताकुमारी विश्वकर्माले ११, जुमु खातुनले र मीनादेवी विश्वासले १३/१३ मत पाएका छन् । जिससको अन्य सदस्यमा एमालेका तुलसीप्रसाद घिमिरे, देवमणि कटुवाल र मित्रप्रसाद ढकाल निर्वाचित भएका छन् । घिमिरे र ढकालले २२/२२ तथा कटुवालले २१ मत ल्याएका छन् ।
अन्य सदस्यमा कांग्रेसको तर्फबाट उम्मेदवार रहेका इम्तियाज अन्सारीको १२ र कल्याण लामिछानेको १३ मत आएको छ । दलित/अल्पसंख्यकबाट सदस्यमा एमालेका चन्द्रबहादुर सरदार निर्विरोध निर्वाचित भएका छन् ।

Logo