‘संवैधानिक अष्पष्टता र विवादको निराकरण अदालतले गर्छ’ : कमल थापा

‘संवैधानिक अष्पष्टता र विवादको निराकरण अदालतले गर्छ’ : कमल थापा

केन्द्रबिन्दु
0
Shares

हेटौंडा ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखापरेको संवैधानिक अष्पष्टता र विवादको निराकरण सर्वोच्च अदालतले गर्ने बताएका छन् । अदालतलाई कुनै पनि पक्षले दबाब र प्रभाव दिन नहुने थापाको भनाइ छ ।

गृहजिल्ला हेटौंडामा रहेका थापाले जिल्ला अध्यक्षहरुसंगको भर्चुअल बैठकमा बोल्दै १४ बर्ष देखिको गलत र त्रुटिपूर्ण राजनीतिक मार्गचित्रको अभ्यासले मुलुक गम्भीर दुर्घटना उन्मुख भएको बताए । अब सबै अट्ने राजनीतिक प्रणालीले मात्र मुलुकलाई जोगाउने भन्दै थापाले कसैलाई पनि निषेध गर्न नहुनेमा जोड दिए ।

आफ्नो स्वार्थ सिद्ध गर्नका निमित्त देश, जनता र प्रजातन्त्रलाई दाउमा राख्न नहुने भन्दै थापाले विप्लव माओवादीदेखि राजासम्म अटाउने मौलिक प्रजातन्त्रले मात्र स्थायित्व दिने दाबी गरे । भ्रष्टाचार, कुशासन, धर्मपरिवर्तन, वेरोजगारी र सर्बसत्ताबाद अहिलेको प्रमुख चुनौती भएको चर्चा गर्दै थापाले राप्रपाको अबको बाटो संगठन सुदृढीकरण, जनसंघर्ष र महाधिवेशन केन्द्रित हुनुपर्ने बताए ।

जनताको घरदैलोमा जान ढिलो गर्न नहुने भन्दै थापाले योजनाबद्ध र प्रभावकारी ढंगले पार्टी एकताको भावना अनुरुप जिल्लामा संगठन केन्द्रित हुन आग्रह गरे । वैठकमा सचिवालय प्रमुखद्वय ध्रुवबहादुर प्रधान र भाष्कर भद्राले पार्टी निर्णय र कार्यान्वयन, संगठन सुदृढीकरण तथा भावी कार्यक्रमका बारेमा आआफ्नो धारणा राखेका थिए ।

आजको वैठकमा तीस जिल्लाका अध्यक्षहरुको सहभागीता रहेको र बाँकी जिल्ला अध्यक्षहरुको वैठक केही दिनभित्रै गरिने सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

Logo