सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।
मंगलबार राष्ट्रिय सभा आयोजित एक कार्यक्रमबीच लामिछानेले नयाँ पार्टी घोषण गरे । उनले आजसम्मको योगदान, लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिका लागि पुराना दल र नेताहरूलाई धन्यवाद दिँदै पत्रकारिताको माध्यमबाट पार्टी र पार्टी चरित्रको सुधारमा लागेकाले पुराना पार्टीमा आवद्ध भएर रुपान्तरण सम्भव नभएकाले नयाँ दल गठनको निष्कर्षमा पुगेको बताए ।
अहिलेसम्मका सबै दलले नागरिकको सेवा गर्छाैँ भनेर झुट बोलेको र आम नागरिकको जीवनशैलीमा कुनै सकारात्मक परिवर्तन नआएकाले आफू राजनीतिमा आउन बाध्य भएको लामिछानेको भनाइ थियो । राष्ट्रिय स्वतन्त्रपार्टीको चुनाव चिन्ह घण्टी प्रस्ताव गरिएको छ । उनले मंगलबार नै आफैं सभापति रहने गरी निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् । पार्टी घोषणा सभामा बोल्दै लामिछानेले रवि लामिछानेले आफ्नो दलले अब सुशासनको घण्टी बजाउने बताए । आफु राजनीतिको फोहोर सफा गर्न आएको उनको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी कार्यकर्तारहित हुनेछ । पार्टीमा ५१ प्रतिशत युवा हुने दाबी गर्दै लामिछानेले आफ्नो पार्टीले व्यापारीबाट चन्दा नलिने तर सर्वसाधारणबाट सहयोग लिने जनाकारी दिए । नातावादबाट टाढै रहने बताउँदै लामिछानेले विकास र सुशासनको मोडल देखाउनेलाई चुनावमा टिकट दिने बताए ।
लामिछाने नेतृत्वको पार्टीमा २१ जनाको सानो टिम छ । टिममा देशले चिनेको मान्छे नभई देशलाई चिन्ने मान्छे रहेको दाबी लामिछानेको छ । स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरुप्रति सम्मान रहेको भन्दै उनले देशभरबाट समानुपातिक मत संकलन गर्नु पर्ने भएकाले दल गठन गर्नुपरेको दाबी गरे ।
डिजिटल डेमोक्रेसीको अभ्यास गर्ने, परिवारवादलाई पूर्णरुपमा निषेध गर्ने, भातृ संगठन र कार्यकर्तारहित पार्टी हुने तथा उद्योगी व्यापारीबाट कहिल्यै चन्दा नलिने नीति उक्त पार्टीको छ । बेतिथी र अराजकताविरुद्ध सधैं प्रश्न गर्ने रवि लामिछाने अब आफैं उत्तर दिने ठाउँमा पुगेका छन् । कम्तीमा एक जना अयोग्य नेतालाई कानुन र नीति निर्माणको तहसम्म पुर्याउन नदिने उद्धेश्य आफुहरुको रहेको बताउँदै उनले व्यवस्था नभई आमसर्वसाधारणको अवस्था परिवर्तन गर्न राजनीतिमा होमिएको बताए ।
राजनितीले वाक्क दिक्क भएका युवाहरुको निराश मुहारमा लामिछानेको घोषणाले आशा र जोशको दियो बलेसँगै के यो देशले पनि साँच्चिकै आफ्नो मूहार फेर्ला त ?





























प्रतिक्रिया