गठबन्धनभित्र कांग्रेसले चलाखी गर्यो, वाम गठबन्धन हुने संभावना छैन : बर्षमान पुन

गठबन्धनभित्र कांग्रेसले चलाखी गर्यो, वाम गठबन्धन हुने संभावना छैन : बर्षमान पुन

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले यसै वर्ष हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धन हुने सम्भावना कम रहेको बताएका छन ।

शनिबार सिन्धुपाल्चोकमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिको बधाइ तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कारण वाम गठबन्धनको सम्भावना नरहेको बताएका हुन् ।
‘केपी ओली प्रवृत्तिको कारण संविधान र लोकतन्त्र नै खतरामा परेको अवस्थामा गठबन्धन बनेको थियो र अझै जरुरी रहेको छ’, उनले भने, ‘आगामी निर्वाचनमा बाम गठबन्धनको चर्चा चले पनि ओली प्रवृत्ति रहेसम्म त्यो संभावना छैन ।’

उनले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले आफूलाई फाइदा हुने र गठबन्धनका अरु दललाई घाटा हुने गरी चलाखी गरेको टिप्पणी गरे ।
‘आफू जित्ने ठाउँमा माओवादीलाई अरुसंग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरुसंग गठबन्धन गर्ने अनि आफू एक्लै जित्ने ठाउँमा सिङ्गल लड्ने गरेको देखियो । अब आउने निर्वाचनमा कांग्रेसको त्यस्तो चलाखी चल्दैन’ नेता पुनले भने ।
कांग्रेसको चलाखीका बाबजुद अझै कांग्रेससँगको गठबन्धनको औचित्य नसकिएको उनको टिप्पणी छ । यद्यपि गठबन्धन सम्मानजनक हुनुपर्ने र नभएमा टुट्न सक्ने उनको भनाइ छ ।

केही देशीविदेशी तत्वहरुले यस पटकको निर्वाचनमा माओवादी केन्द्र पत्तासाफ हुने हल्ला चलाए पनि जनताले त्यसलाई गलत सावित गरिदिएको पनि पुनले बताए ।  ‘यो नासिने र मासिने पार्टी होइन संख्यात्मक हिसाबले माओवादी केन्द्र तेस्रो शक्ति देखिए पनि विचार र सिद्धान्तको हिसाबले पहिलो पार्टी हो’ उनले भने ।

Logo