अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा ठेकेदारले मल ल्याउन सकेनन् : कृषिमन्त्री महिन्द्रराय यादव

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा ठेकेदारले मल ल्याउन सकेनन् : कृषिमन्त्री महिन्द्रराय यादव

केन्द्रबिन्दु
0
Shares

 कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादवले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यवृद्धि भएका कारण ठेकेदारले मल ल्याउन नसकेको बताएका छन् ।  आज बुधवार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित ‘१९ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९’ कार्यक्रममा बोल्दै मन्त्री यादवले मलको ठेक्का लिएका ठेकेदारले मल ल्याउन नसकेका कारण ठेक्का रद्द गर्नुपर्ने अवस्था आएको बताए । उनले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यवृद्धि भएका कारण सरकारले ठेक्का लगाउँदा पनि ठेकेदारहरू नआउने समस्या भएको सुनाए ।  

मन्त्री यादवले ठेकेदारले समयमा कहिल्यै मल ल्याउन नसकेको भन्दै निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने भन्नेमा छलफल भइरहेको बताए । उनले  पुरानो ऐन, कानुनले चाँडै मल उपलब्ध हुने स्थिति नरहेको पनि  बताए ।  
उनले भने, ‘युरिया मल ल्याउनका मन्त्रालयबाट मङ्सिर, फागुन महिनामा दुई लाख मेट्रिक टन ठेक्का ठेकेदारले लिइसकेको, मूल्यवृद्धि हुँदा दुई लाख मेट्रिक टन ल्याउन सक्ने अवस्था रहेन र त्यो ठेक्का रद्द गर्नुपर्ने भयो । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा सरकारले ठेक्का लगाउँदा ठेकेदारले ठेक्का नलिने, ठेक्का लिएको ठेकेदार पनि नआउने । ठेकेदारले मल समयमा कहिल्यै ल्याएन । यसको विकल्प भनेको कृषि कारखाना नै स्थापना हो । मलको मूल्य पनि आयल निगमजस्तै नै बजारको स्वचालित मूल्यमा निर्धारण गर्नुपर्छ ।’

मन्त्री यादवले धानको उत्पादन बढाउनका लागि यान्त्रिकीकरण, बजारीकरण, भण्डारण र किसानको लागत मूल्यको निर्धारण गर्नु आवश्यक रहेको बताए । प्रत्येक पालिकामा एक जना बिएस्सी एजी अध्ययन गरेकालाई राख्नसके किसानको खेती प्रणालीलाई परिवर्तन गर्न सकिने उनको  भनाइ छ । हरेक पालिकाले सामूहिक खेती प्रणाली र नमुना खेती सञ्चालन गर्नुपर्ने उनले बताए ।  

 

Logo