प्रतिनिधिसभा र प्रदेशसभा चुनाव समयमै हुन्छ : प्रधानमन्त्री देउवा

प्रतिनिधिसभा र प्रदेशसभा चुनाव समयमै हुन्छ : प्रधानमन्त्री देउवा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  

६४ औँ संसद् दिवसको अवसरमा आज बिहीवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले पालिका चुनाव स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न भएको दाबी गर्दै अब प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव पनि समयमै सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताए । उनले देशको हितलाई केन्द्रमा राखेर काम गर्न पनि सबै पक्षलाई आह्वान गरे ।  

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन आवधिक चुनावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपाललाई विकसित र समुन्नत देशको रूपमा अघि बढाउन सबैले मिलेर काम गर्नुपर्ने आवश्यकतासमेत औँल्याए । उनले भने, ‘सबै मिलेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको यात्रालाई चाँडै टुङ्गोमा पुर्‍याइ नेपाललाई विकसित र समुन्नत देशको रूपमा स्थापित गर्नु हामी सबैको दायित्व हो । गएको वैशाख ३० गते पालिका चुनाव निष्पक्ष रूपले सम्पन्न भइसकेको छ । यसै वर्ष प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सम्पन्न गर्न सरकार प्रतिबद्ध छ ।’

प्रधानमन्त्री देउवाले देश दिगो शान्ति र विकासको गतिमा अघि बढिरहेको उल्लेख गर्दै त्यसलाई सार्थक बनाउन पूर्वसांसदहरूको अनुभव उपयोगी हुने धारणासमेत राखे ।  

Logo