बागमतीका मुख्यमन्त्री पाण्डेले तत्काल राजीनामा नदिने

बागमतीका मुख्यमन्त्री पाण्डेले तत्काल राजीनामा नदिने


बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तत्काल राजीनामा नदिने भएका छन् ।

 नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकार गठबन्धनको सहमतिका आधारमा बनेकाले केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने निर्णय गरेको हो । 

‘केन्द्रीय गठबन्धनले जे फैसला गर्छ त्यही हुन्छ । तलका हल्लाले केही फरक पर्दैन’, बैठकपछि संसदीय दलका उपनेता कृष्ण खनालले भने, ‘केन्द्रीय गठबन्धनले मिलाएर जाउँ भनेमा मुख्यन्त्रीले राजीनामा दिनुहुन्छ नत्र राजीनामा सम्भव छैन ।’ 

उनले भने, ‘नियमित प्रकिया अन्तर्गत संसदीय दलको वैठक बसेको हो । यसमा मुख्यमन्त्रीको राजीनामाको विषयमा छलफल हुने कार्य तालिका नै थिएन । केन्द्रीय नेताहरुको सहमतिबाटै सरकारको नेतृत्व फेरिने हो । यो बागमती मात्र नभएर सातै प्रदेशको कुरा हो । हामीले यहाँ छोडदा कहाँ पाउने त्यो पनि एउटा विषय हुन आउँछ । त्यसैले आजको बैठकमा सो विषयमा छलफल भएन । शीर्ष नेताको निर्णय नै अन्तिम हुनेछ ।’  

नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले वागमतीमा मात्रै मुख्यमन्त्री परिवर्तन हुन नसक्ने बताए । उनले सातै प्रदेशबारे छलफल भएर निर्णय भए आफ्नो पार्टी बाधक नबन्ने तर बागमतीको मात्रै मुख्यमन्त्री परिवर्तनको पक्षमा आफ्नो पार्टी नरहेको बताए ।

आजको बैठकमा प्रदेश सरकारको बजेट कार्यान्वयन र तिनका चुनौतीको लागि अगाडिको रणनीतिका विषयमा छलफल भएको खनालले बताए । बैठकमा आगामी निर्वाचनको तयारीमा लाग्न सबै सांसदहरुलाई निर्देशन समेत दिइएको छ ।

Logo