प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन् । उनले केहीबेर अघि मनोनयन दर्ता गराएकी हुन् । मनोनयनका लागि अघि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म समय तोकिएको छ । आजै उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
कार्यतालिकाअनुसार भोलि दिउँसो तीन बजे बस्ने प्रतिनिधि सभामा उपसभामुख चयनको प्रस्तावमाथि मतदान हुनेछ । उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि उम्मेदवारी दिने तयारी गरेको छ । त्यसका लागि एमाले अहिले छलफलमा छ ।
उपसभामुख चयनका लागि भोलि दिउँसो ३ बजे बोलाइएको संसद् बैठकमा चुनाव हुनेछ । उपसभामुखमा एक जनाको मात्र प्रस्ताव परेमा निर्विरोध चयन हुनेछ ।
२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि २९ महिनासम्म यो पद रिक्त थियो । तत्कालीन सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा ले सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेपछि तुम्बाहाङ्फेले राजीनामा दिएकी थिइन् ।
प्रतिनिधि सभाको सभामुख तथा उपसभामुख फरक दल र फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ । माओवादीका प्रमुख सचेतक देबप्रसाद गुरुङको प्रस्ताव र सांसद लक्ष्मीकुमारी चौधरीको समर्थनमा भुसालले उम्मेदवारी दर्ता गराएकी हुन् ।





























प्रतिक्रिया