दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले केही समयअघि मात्र उनी काठमाडौं आइपुगेको जनाएको हो ।
‘यो पटकको भ्रमणका अवसरमा उनले विभिन्न व्यवसायिक, नागरिक, तथा सरकारी नेतृत्वकर्ताहरूसँग नेपाल–अमेरिकाबीच ७५ वर्ष लामो मित्रताका विविध आयाम लगायत दुई देशको आर्थिक विकासप्रतिको प्रतिवद्धता, लोकतन्त्र तथा मानव अधिकार, लगायत विषयमा कुराकानी गर्नुहुनेछ,’ अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुक मार्फत भनेको छ ।
दक्षिण एसियाली मामिलाका सबैभन्दा उच्च तहका कूटनीतिज्ञका रूपमा विविध विषयहरूमा छलफलका गर्न लूले नियमित रूपमा यस क्षेत्रको भ्रमण गर्ने दूतावासले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण रद्द भएपछि उनी नेपाल आएका हुन्।
नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको केही सातामै नेपाल आउन लागेका लुको दुईदिने भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ।
यसअघि लु नेपालमा एमसीसी सम्झौता संसदबाट अनुमोदन हुनुअघि गत वर्ष मंसिर १ देखि ४ गतेसम्म नेपालमा रहेका थिए। उनले एमसीसी सम्झौता संसदमा अनुमोदन गराउन राजनीतिक र कूटनीतिक दौडधुप गरेका थिए।





























प्रतिक्रिया