जनता समाजवादी पार्टी नेपालका सांसद प्रमोद साहले प्रतिनिधिसभाभित्र संघीयता विरोधी आवाजलाई रोक्नुपर्ने बताएका छन् ।
शुक्रवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद साहले प्रतिनिधि सभा बैठकमा विभिन्न पार्टीका नेताहरुले गणतन्त्र र संघीयताको बिरुद्धमा बोल्ने गरेको भन्दै खेद प्रकट गरे । उनले आन्दोलनको बलमा आएको संघीयतालाई कसैले हटाउन नसक्ने बताए।
सांसद साहले प्रतिपक्ष दल नेकपा (एमाले) का नेताहरुले संघीयता विरोधी आवाज बोल्ने गरेको भन्दै त्यस्तो अभिव्यक्तिलाई रोक्न सभामुखले रुलिङ गर्नुपर्ने माग गरे । नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले एमालेको अर्थ तथा योजना विभागमा उल्लेखित नाम एम अधिकारी आफूले भेट्टाएको दावी गरे । उनले एम अधिकारी पैसामा अधिकार भएको मान्छे भएको र सो मान्छे नेपाल राष्ट्र बैंकको गभर्नर रहेको पनि दावी गरे । सांसद महतले नेपाल राष्ट्र बैंकको गभर्नरलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेकपा (एकीकृत समाजवादी) की सांसद समिना हुसेनले मधेशका किसानले खेती गर्न नपाएर ऋण लागेको उल्लेख गर्दै कृषि विकास बैंकबाट किसानले लिएको ऋण तथा व्याज मिनाहा गरिदिन सरकार सँग माग गरिन् । उनले तराई मधेसमा महिला हिंसाको घटना बढीरहेको भएपनि प्रहरी प्रशासनले चासो नदेखाएको गुनासो गरिन् ।
नेकपा (एमाले) का सांसद लालबाबु पण्डितले प्रशासनिक रुपमा संघीयता कार्यान्वयन गर्न नसकेमा संघीयतामाथि प्रश्न उठ्ने बताएका छन् । उनले सरकारले संघीय निजामति कर्मचारी सम्बन्धी विधेयक सरकारले नल्याएको प्रति असन्तुष्टि व्यक्त व्यक्त गरे । सांसद पण्डितले सरकार संघीयताका पक्षमा रहेको भए चाँडै विधेयक ल्याउन माग गरेका छन् ।





























प्रतिक्रिया