अर्थमन्त्रीबारे छलफल गर्न माओवादी स्थायी कमिटी बैठक बस्दै

अर्थमन्त्रीबारे छलफल गर्न माओवादी स्थायी कमिटी बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा आज छलफल हुँदै छ । 

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ । संसदीय छानविन विशेष समितिले बजेटमा करको दर हेरफेरमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन बुझाएकाले माओवादीले फेरि शर्मालाई नै अर्थमन्त्रीको रुपमा पठाउने निर्णय गर्न सक्ने सम्भावना छ ।

अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा बोलाएर करको दर हेरफेर गराएको आरोप लागेपछि शर्माले गत असार २२ गते सभामुख अग्नि सापकोटाले छानविन विशेष समिति गठन गरेका थिए । सोही दिन अर्थ मन्त्री पदबाट शर्माले राजीनामा दिएका थिए । संसदीय छानविन विशेष समितिले १७ दिन लगाएर तयार पारेको प्रतिवेदनमा करको दर हेरफेर प्रकरणमा अनधिकृत व्यक्तिको संलग्नता पुष्टि नभएको निष्कर्ष छ । त्यसैले अब फेरि शर्मा नै अर्थमन्त्रीको रुपमा फर्किन्छन् वा माओवादी केन्द्रले अर्को व्यक्तिलाई अर्थमन्त्री बनाउँछ भन्ने चासो छ ।

यसअघि गत असार २२ गते संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै माओवादी नेता वर्षमान पुनले, शर्मा दोषी नदेखिए उनी नै पुनः अर्थमन्त्री बन्ने बताएका थिए । यस सम्बन्धमा आज दिउँसो बोलाइएको माओवादी स्थायी कमिटी बैठकमा छलफल हुने सम्भावना छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले भने आजको बैठकमा स्थायी कमिटी र पोलिटव्युरो पूर्णता लगायतका विषयमा छलफल हुने बताएका छन् ।
 

Logo