पूर्वप्रधानमन्त्रीहरुको प्रधानमन्त्री मोह !

पूर्वप्रधानमन्त्रीहरुको प्रधानमन्त्री मोह !

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावपछि प्रधानमन्त्रीको उमेद्धवार बन्ने घोषणा गरेका छन् । 

कांग्रेसमा प्रधानमन्त्रीको उमेद्धवार बन्नको लागि पार्टी संसदीय दलको नेतामा चयन हुनुपर्छ । यसअनुसार थापाले संसदीय दलको नेतामा उमेद्धवारी दिने बताईसकेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका दलहरूमा भने आफ्ना अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्रीलाई चुनौती दिने नेता देखिएको छैन । यद्यपी सामाजिक सञ्जालको बहश हेर्ने हो भने यसअघि प्रधानमन्त्री भएर परीक्षण भइसकेका नेताहरूलाई हराउने अभियान सुरु भएको देख्न सकिन्छ । 

कांग्रेसमा शेरबहादुर देउवा, नेकपा एमालेमा केपी शर्मा ओली, माओवादीमा पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीमा माधव नेपाल र झलनाथ खनाल अनि हालै जसपाबाट   पदमुक्त भएका डा. बाबुराम भट्टराई प्रधानमन्त्री भइसकेका नेताहरू हुन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली फेरि पनि प्रधानमन्त्री बन्न चाहन्छन् । एमालेसँग मिल्ने शक्तिलाई साथमा लिएर तेस्रो पटक प्रधानमन्त्री बन्नु ओलीको चुनावी रणनीति हो ।

नेकपा बिभाजनपछि एक बर्ष अघि असारमा ओली प्रधानमन्त्रीबाट बाहिरिएका थिए । त्यसपछि बनेको कांग्रेस, माओबादी, एकीकृत समाजबादी सहितको गठबन्धनको नेतृत्व प्रधानमन्त्री शेरबहादुर देउवाले गरिरहेका छन । आगामी निर्वाचनमा झापामा ओलीलाई चुनौती थपिने निश्चित छ । अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा राप्रपासँग तालमेल गरेका ओलीले यसपटकको चुनौति कसरी पार लगाउँछन हेर्न बाँकी छ ।

गत स्थानीय निर्वाचनमा ओलीको गृहनगर दमक नगरपालिकामा  राप्रपाका राम थापा मेयरमा निर्वाचित भए । दशकौ लामो स्थानिय तहमा रहेको एमालेको पकड यसपटक गठबन्धन सामु पराजित भयो । यसरी हेर्दा स्थानिय तहको मुख्य क्षेत्र नै ओलीको पकडबाट बाहिरीएको अवस्था छ । स्थानीय चुनावमा केही प्रमुख नगरपालिकामा स्वतन्त्रले जितेको घटनाले प्रमुख दललाई सशङ्कित तुल्याएको पाइन्छ ।

प्रमुख र पुराना दललाई चुनौती दिन देशव्यापी रूपमा स्वतन्त्र उम्मेदवार, नवस्थापित दलहरू र चर्चित व्यक्तिहरूबीच सहकार्य गर्ने र गराउने प्रयास चलिरहेको पाइन्छ । आफ्नो क्षेत्रमा खतरा देखेमा मुख्य दलका नेताबीच पक्ष र विपक्ष जो जहाँ भए पनि सिटको तालमेल हुने विज्ञहरु बताउँछन् । तेस्रो पटक नै प्रधानमन्त्री हुने इच्छा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को पनि छ ।

माओवादी केन्द्रलाई   देशको बागडोर फेरि एकपटक आफ्नो हातमा लिन कसैले रोक्ने छैन भन्ने दाहालको अभिव्यक्तले पनि उनी प्रधानमन्त्रीको रेशमा रहेको कुरा प्रष्ट छ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)बाट कारबाहीमा परेका अध्यक्ष बाबुराम भट्टराइले नयाँ पार्टी खोलिसकेका छन् । एकपछि अर्को गर्दै शक्ति गुमाएका भट्टराईलाई फेरि प्रधानमन्त्री बन्न अनुकुल छैन । तर, पनि शक्तिमा फर्कन इच्छा व्यक्त गरिरहेका छन् बाबुराम ।

अर्का अध्यक्ष उपेन्द्र यादवले जसपालाई क्षेत्रीय दल बनाउन खोजेको आरोपले पुष्टि हुन्छ, शक्तिमा फर्कने बाबुरामको इच्छा । माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानलाई समाजवादी केन्द्रमा मिलाए शक्तिमा पुगिने भट्टराईको बुझाइ छ । एक/एक पटक प्रधानमन्त्री भइसकेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालको दौड हेर्दा पनि थाहा हुन्छ उनीहरुको लक्ष्य प्रधानमन्त्री बन्नु नै हो ।

भलै उनीहरुका लागि पनि भट्टराईलाई जस्तै परिस्थिति अनुकूल भने छैन । नेपाल–खनाल मात्रै होइन, प्रचण्ड–बाबुरामदेखि बामदेव गौतमसँगको समाजवादी केन्द्रसँगै लुकेको स्वार्थ हो प्रधानमन्त्री पद । एमालेलाई नै साथमा लिएर प्रधानमन्त्री बन्ने रोडम्याप बामदेब गौतमको पनि छ । किनभने तत्कालीन नेकपाको किचलोमा पनि ओलीले गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव गरेपछि उनी पुलकित नै भए । अहिले पनि ओलीलाई परिस्थितिले समाजवादी मोर्चामा ल्याउने बुझाइमा छन् गौतम । 

स्थानीय तहको निर्वाचन परिणाम अनुसार पहिलो शक्तिका रुपमा उदाएको कांग्रेस फेरि पनि आफ्नै पार्टीको सरकार बनाउने योजनामा छ । पार्टी सभापति र प्रधानमन्त्री शेरबहादुर देउवा पनि प्रधानमन्त्रीको दौडमा सामेल छन । किनकी ईतिहासमै सबैभन्दा कमजोर अवस्थामा कांग्रेस रहेका बेला ओलीले संसद बिघटन गरेपछि देउवा प्रधानन्त्री बन्न पुगेका थिए । देउवा पाँचौ पटक सरकारको नेतृत्व गरिरहेका छन ।

तर यसपटक, देउवालाई नै रोक्ने गरी नेपाली कांग्रेसभित्रै गृहकार्य   भइरहेको छ । महामन्त्री गगन थापाले आफू अब प्रधानमन्त्रीको दाबेदार भएको घोषणा गरिसकेका छन् । त्यसो त, अनौपचारिक रुपमै भए पनि देउवा पत्नी आरजु राणा देउवा समेत प्रधानमन्त्रीका लागि अघि सर्न थालेको चर्चा हुन थालेको छ । प्रचण्डसँग भारतमा भेट, आरजुले भारतसँग बढाइरहेको हिमचिमले पनि उनी प्रधानमन्त्री बन्ने चर्चालाई बढावा दिइरहेको छ ।

स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरु पनि स्वतन्त्र उम्मेदवारसँग पराजित भएका थिए । काठमाडौं महानगरमा एमालेका केशव स्थापित र कांग्रेसका सिर्जना सिंहलाई बालेनले पराजित गर्दा धरान उपमहानगरमा हर्क साम्पाङ र धनगढी उपमहानगरमा गोपी हमाल दलका उम्मेदवारलाई हराउँदै स्वतन्त्रबाटै मेयर बनेका छन् ।

जसको प्रभाव स्वरुप प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा शीर्ष नेताहरुलाई नै हराउन सकिने भन्दै गृहकार्यमा केही स्वतन्त्र उम्मेदवार लागिरहेका छन् । देउवालाई साझा सवाल कार्यक्रममा प्रश्न गरेर चर्चित बनेका सागर ढकालले देउवाविरुद्ध डडेल्धुराबाट चुनाव लड्ने घोषणा गरेका छन् । पछिल्लो समय स्वतन्त्र उमेद्धवारहरुको स्वतस्फुर्त चुनाबी उमेद्धवारी घोषणाले शिर्ष भनिएका नेताहरुलाई नै चुनौति थपिएको छ ।    

राजनीतिमा उमेरभन्दा पनि अनुभव र इच्छाशक्तिले काम गर्छ । अनुभव भएर पनि जनताको पक्षमा परिणाम देखिने खालको काम नहुँदा सत्ताको नेतृत्व सम्हालिसकेका नेताहरू युवा पिँढीको निशानामा पर्दै गएका छन् ।  

 
 

Logo