नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरुङले नेपालसामु सैन्य युद्ध आतंकको खतरा रहेको बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले विश्व साम्राज्यवादले अहिले नेपालसहित पूर्वी मुलुकमा इण्डोप्यासिफिकको सम्झौता अघि सारेर सैन्य युद्ध मच्चाउन लागेको बताए । नेता गुरुङले पश्चिममा नाटोलाई अघि बढाएर युक्रेनमा युद्ध मच्चाइरहेको उल्लेख गर्दै नेपाललाई सैन्य अड्डा र द्वन्द्वस्थल बनाउने खतरा रहेको दाबी पनि गरे ।
देशलाई सैन्य क्रिडास्थल बनाउने प्रक्रियाबाट जाँदा नेपाल कुनै दिन अफगानिस्तान र दोस्रो युक्रेनमा परिणत हुनसक्ने उनको चेतावनी थियो । नेपालमा विदेशीहरुले सैन्य बेसक्याम्प बनाए नेपालको राष्ट्रिय अस्मिता समाप्त हुने भन्दै नेता गुरुङले राष्ट्रिय स्वाधिनताको मुद्दामा सबै पार्टी र जनता एकसाथ हुनुपर्ने बताए ।
उनले भने, ‘हामीसामु युद्ध र सैन्य गतिविधिको खतरा छ । हामीसामु युद्ध आतंकको खतरा छ । युद्धको रुपमा नेपालमा विदेशीहरुको सैन्य बेसक्याम्प बनाएर गए नेपालको राष्ट्रिय अस्मिता समाप्त हुन्छ । देशलाई एकतावद्ध गरेर लैजान पनि राष्ट्रिय दलहरुको बीचमा राष्ट्रिय सहमतिको जरुरी छ ।’
पूर्वमन्त्री समेत रहेका नेता गुरुङले नेपालको इतिहासमा सुगौली सन्धीदेखि नै नेपालको राष्ट्रिय स्वाधिनता कुण्ठित हुँदै आएको बताए । उनले नेपालमा खुला सीमानाका कारण जनसांख्यिक अतिक्रमण, अवैध प्रकारका सामग्रीहरुको ओसारपसारको वृद्धि र राजश्व छली भइरहेको बताउँदै यस्ता घटनाको गम्भीर असर देशको अर्थतन्त्रमा परिरहेको दाबी गरे । उनले नेपाल र भारतबीचको खुला सीमा नियन्त्रित र व्यवस्थित गर्नुपर्ने बताउँदै पासवर्ड र भिसाको व्यवस्था गरेर मात्रै यो समस्या समाधान हुने जिकिर गरे ।
गुरुङले भने, ‘पछिल्लो समय सीमा अतिक्रमण झनै बढ्दै गइरहेको छ । कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूभागमा अतिक्रमण हुनुका साथै थुप्रै स्थानमा सीमा अतिक्रमण भइरहेको छ । राज्य सञ्चालकहरुले सीमा नियन्त्रण र व्यवस्थित गर्न सकिएन । नियतवश खुला सीमाना राखेकाले अतिक्रमणको प्रक्रिया रहिरहेको छ । यसकै कारण नेपाल अर्ध उपनिवेशको रुपमा आइरहेको छ ।’
नेता गुरुङले खुला सीमानाका कारण नै नेपालको नागरिकतामा यसको असर परिरहेको बताउँदै खुला सीमानाले आप्रवासीको जनसंख्या बढिरहेको दाबी गरे ।





























प्रतिक्रिया