जापानको पाँच दिने भ्रमणमा के-के गरे प्रचण्डले ?

जापानको पाँच दिने भ्रमणमा के-के गरे प्रचण्डले ?

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल जापानको पाँच दिने भ्रमण सकेर बुधबार काठमाडौँ फर्किए ।

गत शनिबार बिहान नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका दाहाललाई जापानबासी नेपालीहरुले न्यानो स्वागत गरेका थिए । दाहालको स्वागतमा जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदी क्षेत्री, एनआरएन आइसीसीका पूर्व अध्यक्ष एवं संरक्षक भवन भट्ट सहितका अन्य अभियान्ता, नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्त लगायत अन्य पदाधिकारी, व्यवसायी, पत्रकार र सर्वसाधारण नेपालीहरु नारिताविमानस्थल पुगेका थिए ।

नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा ४ सदस्यीय भ्रमण दलसहित जापान गएका दाहालको यो पहिलो जापान भ्रमण हो । दाहालसंगै भ्रमणदलमा उनकी छोरी गंगा दाहाल, स्वकीय सचवि रमेश मल्ल र प्रेस संयोजक नारायणप्रसाद ढुंगाना थिए । भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा दाहालले भ्रमण उपलब्धिपूर्ण रहेको प्रतिक्रिया दिए । शनिबार नारिता विमानस्थलमा केही घण्टाको विश्रामपछि लगत्तै दाहाल जापानको अर्को सिटी फुकुओका उडेका थिए ।

टोकियोदेखि करीब ८ सय किलोमिटरको दूरीमा रहेको नेपालीहरुको बाक्लो उपस्थिति रहेको अर्को सहर फुकुओकामा आयोजित नेपाल फेस्टिबलको उदघाटन गर्दै दाहालले यसप्रकारको कार्यक्रमबाट नेपाल–जापानबीच रहीआएको सुमधुर सम्बन्धलाई जनस्तरसम्म पुर्‍याउन सहयोग पुग्ने बताएका थिए ।

तत्पश्चात सोही दिनै उनी नेपाली जनप्रगतिशील मञ्च कान्साई क्षेत्रीय समितिद्वारा आयोजित एक भेटघाट कार्यक्रमलाई सम्बोधन गर्न ओसाका पुगेका थिए । ओसाकाको कार्यक्रम पश्चात आइतबार बिहान दाहाल दोस्रो बिश्वयुद्धमा अमेरिकाको बम आक्रमणबाट क्षतविक्षत हुन पुगेको सहर हिरोशिमा पुगेका थिए । त्यहाँ उनले क्षतिग्रस्त एवं भग्नावशेष क्षेत्र र सो संग सम्बन्धित संग्रहालयको अवलोकन गर्नुका साथै स्थानीयहरुसंग भलाकुसारी गरी उनीहरुको मनोभावना बुझ्ने प्रयास पनि गरेका थिए ।

त्यसपछि दाहालले आइतबार टोकियोमा आयोजित खुल्ला अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै जापानबासी नेपालीहरुले देश निर्माणमा आफुप्रति ठूलो आशा र भरोसा राखेको आफुले पाएको धारणा ब्यक्त गरका थिऐ । जापानबासी नेपालीहरुले आफुलाई निकै ठूलो भारी बोकाएर पठाउन लागेको उनको आशय थियो । त्यसलाई कार्यान्वयनका लागि इमान्दार प्रयत्न गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे ।

एक अर्को प्रसंगमा दाहालले जापानस्थित नेपाली राजदूतावासमा विद्यमान अपर्याप्त भौतिक संरचना तथा जनशक्ति अभाव जस्ता समस्याको शिघ्र समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण गराउने वचनबद्धता पनि ब्यक्त गरेका थिए । कार्यक्रममा जापानको विभिन्न क्षेत्रका नेपाली समुदायका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

जापान भ्रमणको तेस्रो दिन सोमबार पनि दाहाल दिनभरि व्यस्त थिए । सोमबार उनले साइतामा प्रिफेक्चरल गभर्मेन्टको एग्रिकल्चर बिजनेश सपोर्ट डिभिजिन अन्तरगत एक कृषि फर्मको अवलोकन भ्रमण गरेका थिए । सो अवसरमा नेपालका लागि पूर्व जापानी राजदूत तथा द एग्रिकल्चर सोसाइटी अफ जापानका उपाध्यक्ष मासामिची साइगो र साइतामा प्रिफेक्चरल गभर्मेन्टका पदाधिकारीहरुले स्वागत गरेका थिए । सो अवसरमा बोल्दै दाहालले कृषिको आधुनिकीकरण र प्राविधिकरण जापानबाट सिक्न चाहेको बताएका थिए ।

जापान भ्रमणको चौथो दिन मंगलबार दाहालले जापानमा नेपालीहरुद्वारा सञ्चालित नेपाल सरकारद्वारा मान्यता प्राप्त मुलुकबाहिरको पहिलो स्कुल एभरेष्ट इन्टरनेशनल स्कुलको अवलोकन गर्ने कार्यक्रम थियो । यसैगरी दाहालले मंगलबार टोकियोस्थित नेपाली राजदूतावासको अवलोकन भ्रमण गरेका थिए भने संक्षिप्त राजनैतिक भेटघाट पनि गरेका थिए ।

जसअनुसार दाहालले जापानको सत्तारुढ दल एलडिपीका पूर्व महासचिव तथा प्रभावशाली एवं वरिष्ठ नेता तोशिहिरो निकाई लगायतका नेताहरुसंग भेटवार्ता गरेका थिए । दाहालको जापान भ्रमण उनका लागि प्रत्युत्पादक भएको छ।जापानको नरिता विमानास्थलमा ओर्लेपछिसंचारमाध्यमसँग बोल्ने क्रममा हालै हत्या गरिएका जापानी पूर्वप्रधानमन्त्री सिन्जो आवेका बारेमा हुँदै नभएको टिप्पणी गरी आफूलाई जापानी नेतासँगको सम्पर्क भएको नेपाली नेताका रुपमा चिनाउन खोजेपछि उनीमाथि जापानवासी नेपालीहरु खनिएका थिए ।

सामाजिक सञ्जालहरुमा उनको भ्रमणको औचित्यमाथि प्रश्न गर्नेहरुको बाढी नै आएको थियो । गोली हानी हत्या गरिएका जापानी नेता आवे जापानवासी नेपालीहरुमाझ पनि निकै लोकप्रिय थिए। उनीप्रति सम्मान व्यक्त गर्ने लहर नै चलेको बेला ती नेपालीको भावना जित्न जापानवासी नेपालीहरुलाई गलत तथा भ्रामक कुरा गरेकाले प्रचण्डको भ्रमण उनका लागि प्रत्युत्पादक भएको हो ।

नेपालस्थित जापानी दूतावासका अनुसार अहिलेसम्म जापानबाट एकपटक बहालवाला प्रधानमन्त्री नेपाल भ्रमणमा आएका छन् । सन् २००० मा जापानका तत्कालीन प्रधानमन्त्री योसिरो मोरी नेपाल भ्रमणमा आएका थिए । आबे प्रधानमन्त्री वा पूर्वप्रधानमन्त्रीका रुपमा नेपाल भ्रमणमा नआएको दूतावासको भनाइ छ । 

नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुवै देशबाट उच्चस्तरीय भ्रमण हुने गरेका छन् । सन् १९९८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जापान भ्रमण गरेका थिए । त्यतिबेला जापानमा केइजो ओबुची प्रधानमन्त्री थिए । त्यसको दुई वर्षपछि जापानी प्रधानमन्त्री मोरी नेपाल भ्रमणमा आएका थिए । उनको भ्रमण नै जापानी प्रधानमन्त्रीको पहिलो औपचारिक नेपाल भ्रमण थियो । त्यसपछि जापानका विदेशमन्त्रीहरू कोइचिरो गेम्बा र तारो कोनो नेपाल भ्रमणमा आएका थिए ।

नेपालका तर्फबाट भने तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सन् २०१८ मा ५ दिने औपचारिक भ्रमणमा जापान गएका थिए । त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी सम्राट नारुहितोको गद्दी आरोहणका क्रममा सन् २०१९ मा जापान भ्रमणमा गएकी थिइन् । त्यतिबेला उनलाई तत्कालीन प्रधानमन्त्री आबेले समेत भेटेका थिए ।

दाहालको जापान भ्रमण तय भएयता उनको भ्रमणलाई लिएर सर्बत्र चर्चा भईरहँदा र सामाजिक सञ्जालमा ब्यक्त हुने गरेका नकारात्मक टिप्पणीको वर्षा हेर्दा सर्बसाधारण नेपालीहरु मुलुकको राजनैतिक वागडोर सम्हाल्दै आएका शीर्षस्थ नेतागणप्रति असन्तुष्ट मात्र छैनन् चरम आक्रोशित पनि देखिन्छन् ।

राजनीतिले सहि दिशा समात्न नसकेकोमा र मुलुकले अपेक्षित परिणाम हासिल गर्न नसकेकोमा स्वदेशमा मात्रै होइन विदेशमा बस्ने नेपालीहरु पनि भरोसा गरेका नेताहरुप्रति रुष्ट देखिन्छन् । नेताहरुले नेपाली जनताको मनोभावनालाई आत्मसाथ गरेर मुलुक बनाउन इमान्दार प्रयत्न गरुन् भन्ने उनीहरु चाहन्छन् ।

Logo