केन्द्रबिन्दु बुलेटिन : ‘पहिलो चरणमा ४ प्रदेशमा निर्वाचन’-प्रधानमन्त्री (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : ‘पहिलो चरणमा ४ प्रदेशमा निर्वाचन’-प्रधानमन्त्री (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा प्रतिनिधिसभाको निर्वाचन गराएरै छोड्ने बताएका छन् । त्यसका लागि पहिलो चरणमा प्रदेश नं. दुईसहित गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा र दोस्रोचरणमा प्रदेश नं. १ सहित वाग्मती र कर्णाली प्रदेशमा निर्वाचन गराउने प्रधानमन्त्री ओलीले जानकारी दिए । उनले माघ १४ गतेबाट देशभर कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिने पनि जानकारी गराए ।

बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रतिनिधिसभा विघटनपछि राजनीतिकरुपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । यो सँगै प्रदेशसभाको बैठक आगामी माघ १९ सम्मका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि भएको सुनुवाइ शुक्रबार पनि नसकिएपछि आइतबारका लागि ‘हेर्दाहेर्दै’मा राखिएको छ । यस्तै बिहीबार सुनुवाइका क्रममा बहस गर्ने रिट निवेदक पक्षका अधिवक्ता टिकाराम भट्टराईले राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको सूचना राजपत्रमा प्रकाशित नभएको भन्दै त्यसको वैधानिकतामाथि प्रश्न उठाएपछि आजको बहसमा राजपत्रमा प्रकाशित सूचना पेश भएको छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार नेकपाको दाहाल–नेपाल समूहले विरोध प्रदर्शन गरेको छ । चरणवद्ध आन्दोलनमा अघि बढेको विभाजित नेकपाको समूहले शुक्रबार उपत्यकाका विभिन्न ९ स्थानमा जम्मा भएर जुलुस निकालेका थिए । जुलुसपछि विरोधसभामा परिणत भएको कार्यक्रमामा बोल्ने अधिकांस बक्ताले प्रधानमन्त्री ओली नेतृत्वले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेको भन्दै त्यसको विरोध गरेका थिए ।

राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती पदेशले तेस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा प्रदेश–२ माथि ६ विकेटको जित निकाल्दै तेस्रो जित निकालेको हो । यता, जारी महिला लिग फुटबल अन्तर्गत, विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ । शुक्रबारको खेलमा पुलिसले चौदण्डीगढी नगरपालिका उदयपुरलाई ६–० को फराकिलो अन्तरले हराएको हो ।

Logo