दस वर्षदेखि एक्लै धरानको सडकमा कराइरहेका धरानका हर्क साम्पाङको आवाजलाई धराने जनताले पत्याएको र उपमहानगरको मेयरका रुपमा उनको आवाजमा आवाज मिसाएको सय दिन पूरा भएको छ ।
अथवा साम्पाङको ‘हनिमुन पिरियड’ पूरा भइसकेको छ । कुनै दलको पिछलग्गु नभइ धरानको मेयर बनेका साम्पाङले के–के गरे त सय दिनमा ? आजको अंकको ट्रेन्डिङ एक्सप्रेसयही विषयमा केन्द्रित गरेका छौं । विगत एक दशकदेखि धरानवासीको हकहितका विषयमा विभिन्न एजेन्डाहरू अघि सार्दै संघर्षरत व्यक्ति हुन्, हर्क साम्पाङ । चाहे त्योबेलासडक संघर्षको बेला होस् या अहिले कुर्सीमा भएको बेला, उनको कार्यशैली भिन्न खाले देखिन्छ ।
भुइँमान्छेको कथा र व्यथालाई सम्बन्धित निकायसम्म पुर्याउने पुल बनेका साम्पाङ अहिले पनि सर्वसाधारणसँगै छन् । यसरी भनौँ, अभियन्ता हर्क साम्पाङ मेयर बनिसकेपछि पनि आफ्नो अभियानलाई छोडेका छैनन् । बेलाबेलामा गिट्टी कुट्न जाने, खोलाको मुहान धाउने,वृक्षारोपण गर्ने, झाडु लिएर भानु चोक सरसफाइ गर्नेजस्ता कार्यहरूले उनलाई विवादितसमेत बनाउने गरेको छ । दलहरूको दबादबा उल्ट्याउँदै उपमहानगरका मेयरको आसनमा पुगेका साम्पाङले यो उपलब्धिसम्मको यात्रामा दुःखका थुप्रै कान्ला उक्लेका छन्। स्थानीयबासीका मसिना तर महत्वपूर्ण मुद्दामा निरन्तर काम गरेका छन्। स्थानीय मुद्दा र तिनै मुद्दामा निरन्तर काम गरिरहेकै बलमा उनले चुनाव जितेका हुन्।
बिहीबार आफ्नो फेसबुक पेजबाट सय दिनसम्म गरेका कामहरु सार्वजनिक गर्दै उनले लेखेका छन् :
“१०० दिनमा के गरिस तँले ? भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तरः
१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें !
२. ४ ठाउँबाट खानेपानीको मूहान थपें !
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ !
४. ६ लाख विरुवा रोपें !
५. सरसफाइमा देखिने सुधार ल्याएँ !
६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ !
७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें !
८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन !
९. लागु औषध विरुद्धको अभियान शुरु गरें !
१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ !
११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें !
१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ !
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ !”
दुई वर्षदेखि हर्कराज राई उर्फ हर्क साम्पाङले यही पेजबाट धरानका विविध विषयमा आफ्ना स्ट्याटस र भिडिओ अपडेट गरिरहेका हुन्छन्। योजना सुनाइरहेका हुन्छन् । नगर चलाइरहेका दलका नेताका कारण समस्या बल्झिएको तर्क गरिरहेका हुन्छन्। अनि आफ्ना गीत र अन्य रचना पनि सुनाइरहेका हुन्छन् । उनी मेयर बनेपछि फेसबुक पेजको नामजस्तै साम्पाङले धरानमा एक चरणको क्रान्ति पूरा गरेका छन्। जुन क्रान्ति उनले एक्लै सुरू गरेर वर्षौंसम्म एक्लै चलाएका थिए।धरानेका दैनिक जनजीवनसँग जोडिएका सवाल उठाएर साम्पाङले ‘क्रान्ति’ थालेको १० वर्षअघि हो ।
२०७२ सालमा धनकुटा रोड विस्तार गर्दा धेरै जनाको उठिबास लाग्ने भएपछि साम्पाङसहितका आन्दोलनकारीले अभियान चलाए। त्यही आन्दोलनले उनलाई धरानमा चिनाएको हो ।उनी सामाजिक सञ्जालदेखि धरानका सडकमा हाते माइक बोकेर खानेपानी, प्राकृतिक स्रोत दोहन लगायत विविध मुद्दामा भाषण गर्थे। उनका त्यस्ता भाषण सुन्न धेरै मान्छे आउँदैन थिए। तर कसैले सुनोस् कि नसुनोस्, साम्पाङले आफ्ना कुरा निरन्तर भनिरहे।
हर्क साम्पाङका पछिल्ला केही गतिविधिहरूले उनका अनुयायीहरूलाई दुई धारमा विभाजित गरेको छ । अधिकांश सर्वसाधारणले उनका ती कार्यहरूको तारिफ गर्ने गरेका छन् भने केही बौद्धिक स्तरका तप्काले उनको आलोचना गर्ने गरेका छन् । आलोचकहरूका अनुसार मेयर जनप्रतिनिधिहरूको कार्यकारी (एक्जिक्युटिभ) पद हो, मेयरले नीति तथा ऐनकानूनको तर्जुमा, बजेटको बाँडफाँट र मिलान, नगरका विभिन्न समस्यामाथि सरोकारवालासँग छलफल र बहस गर्ने हो । न कि खोलामा गएर गिट्टी कुट्ने । यसमा अर्को थरीले भने जनताको मेयर भएकाले जनताको पीर, मर्का र दुःखसुखमा काँध मिलाएको भन्दै तारिफ गर्ने गरेका छन् ।
अझ भनौँ, उनका पछिल्ला क्रियाकलापहरूमा धरानेहरुले समेत साथ दिन थालेका छन् । जस्तो कि, धरान २० पकुवा खोलामा पुगेर धरानका सर्वसाधारण, विभिन्न सरोकारवाला संघसँस्थाहरुले जनश्रमदान गरे । साम्पाङले नगर प्रहरीको सहयोगमा धरानको मुहान मानिएको जलाधार क्षेत्रमा गएर सरसफाइ अभियान चलाएर त्यहाँ नगर प्रहरी पोस्टसमेत स्थापना गर्दा होस् या आफ्नो गाडी बेचेर रोलर मेसिन किन्ने निर्णय गर्दा होस्, धरानेले समर्थन गरिरहेका छन् ।
हर्क साम्पाङ ती मेयर हुन्, जसले निर्वाचित भएको भोलिपल्टै खानेपानीको मुहान अवलोकनमा निस्किएका थिए । आवश्यक मर्मत र कामलाई द्रुत गतिमा अघि बढाउन निर्देशन पनि दिएका थिए । तत्पश्चात एकपछि अर्को गर्दै जनमानसमा भिज्ने र तत्कालै देखिने कार्यसम्पादनको ट्रयाकमा छन्, साम्पाङ । आलोचकले जसरी तर्क गरेपनि उनको एउटा तर्कमा दम छ । उनी भन्छन्, ’मेयरले काम गर्ने होइन, गराउने हो ।
तर मेरो अनुहार देखाइदिँदा सयौंको संख्यामा मान्छेहरू उपस्थित हुन्छन् भने यसबाट फाइदा कि घाटा ? जनसहभागिता बढ्नु नराम्रो पनि त होइन होला ?’ वास्तवमै उनको अगुवाइमा धरान सरोकारका थुप्रै अभियानहरू सफलसमेत भएको देखिन्छ ।हुन पनि साम्पाङ एक अभियन्ताको रूपमै उदाएका व्यक्ति हुन् । उनले दाबी गरेअनुसार धरानको विकास र समृद्विका निम्ति १४ वर्ष विभिन्न अभियानमा जोडिए । निर्वाचित हुनुअघि खानेपानी, चुरे दोहन, बीपी प्रतिष्ठान सुधार, धनकुटे बस्ती जोगाऔँजस्ता भ्रष्टाचार विरोधी अभियानमा साम्पाङले धरानवासीलाई ठूलो गुण लगाएका छन् ।
त्यसैले हुनुपर्छ, यी मुद्दाहरूमा अझैसम्म पनि उनको ‘इमोसन’ उस्तै छ । अहिलेसम्म उनका गतिविधिहरूलाई नियाल्दै गर्दा उनको नियतमाथि प्रश्न गर्ने ठाउँ नभएको विश्लेषकहरू बताउँछन् । हाल त उनी आफ्नो जिम्मेवारी र काम–कर्तव्यबारे अनभिज्ञ भएको भन्न सकिन्छ । यस मानेमा उनलाई यतिबेला मेयर मात्र होइन कि अभियन्ता पनि भन्न सकिन्छ । अहिले साम्पाङले धरान खानेपानी समस्या समाधान, वृक्षारोपणमार्फत् धरानलाई स्वच्छ सफा बनाउने, दुव्र्यसनीमुक्त शहर बनाउने, भ्रष्टाचार न्यूनीकरण गर्ने, मितव्ययिता अपनाउने, सरसफाइ अभियान चलाउने, तारलाई व्यवस्थित गर्ने, ट्राफिकको समस्यालाई निराकरण गर्नेजस्ता अभियानलाई निरन्तता दिइरहेका छन् ।
पछिल्लो समय मेयर साम्पाङप्रति धेरैले सामाजिक सञ्जाल फेसबुकमा धेरै स्ट्याटस लेख्ने गरेकोमा गुनासो गर्ने गरेका छन् । केही प्रयोगकर्ताले त आक्रोश नै पोख्न भ्याउँछन् । हुन पनि १० भन्दा बढी स्ट्याटसहरू दिनमै पोस्ट गर्दछन्, साम्पाङ । कहिलेकाहीँ त उनी कुनै आवश्यकता र औचित्य नभएका स्ट्याटसहरूसमेत लेख्ने गर्दछन् । यद्यपि, उनले यसका पछाडि फेसबुकमार्फत् आफूले गर्ने कार्यहरूको बारेमा जनतालाई जानकारी दिने उद्देश्य मात्र रहेको बताउँदै आएका छन् ।
असलमा उनका क्रियाकलापलाई नियाल्दा उनले व्यक्त गर्ने फेसबुकका विचारहरूमा जनमानसले गर्ने सकारात्मक कमेन्टहरूद्वारा मेयर साम्पाङ पुलकित भएको प्रष्ट देखिन्छ । सप्तकोसीको पानी ल्याएर धराने जनतालाई खुवाउने, भ्रष्टाचार नगर्ने, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुधार गर्नेजस्ता एजेन्डा लिएर चुनाव लडेका साम्पाङ अझै आफ्ना एजेन्डामा अडिग छन् । अझ उनले यतिसम्म भनेका छन्, ’धराने जनतालाई पानी खुवाउन नसकेको दिन धरान छोडेर जान्छु ।
साम्पाङको फेसबुक पेज ’हर्क साम्पाङ अ रिभोलुसन’ जस्तै उनी रिभोलुसन बन्न सक्छन् वा सक्दैनन्, त्यो अहिल्यै भनिहाल्न नसकिएला । यद्यपि ’मर्निङ सोज द डे’ भनेर सोच्ने हो भने उनी क्रान्तिकारी बन्न सक्छन् वा सक्दैनन् दुई पाटोबाट हेर्नुपर्ने हुन्छ । पहिलो, मेयरले मेयरकै काम गर्नुपर्छ । उनी अहिलेको जस्तै ससाना कामहरूमा बहकिँदै जाने हो भने उनको पूरा कार्यकाल यसरी नै बित्न सक्छ । यसै पनि उनीमाथि थुप्रै महत्वपूर्ण अभिभारा छ । खानेपानीको मुद्दालाई जबर्जस्त स्थापना गर्न खोजिरहेका मेयर साम्पाङ सप्तकोसीबाट पानी ल्याएर ख्वाउने मात्र भनिरहेका छन् ।
तर त्यसको खास योजना, सम्भाव्यता, बजेटबारे मेयर साम्पाङ अनभिज्ञ देखिन्छन् । यद्यपि फेसबुक लाइभबाट खानेपानीको लागि कुदेकोकुद्यै छु भन्न भने उनले छोडेका छैनन् । त्यस्तै, अरु पनि थुप्रै समस्याहरुको चाङ छ, धरान उपमहानगरमा । बीपी प्रतिष्ठान सुधार गर्ने, सुकुम्बासी समस्या समस्या समाधान गर्ने, चुरे दोहनलाई रोक्ने उनको संकल्प छ, तर कसरी गर्ने भनेर ठोस कार्य योजना तयार पार्न सकेका छैनन् ।
दोस्रो, उनले अहिले गरिरहेको कार्यहरूमा जुन किसिमको सर्वपक्षीय साथ र समर्थन छ, त्यो सदासर्वदा रहला कि नरहला भन्ने कुराले महत्वपूर्ण अर्थ राख्न सक्छन् । देशमा व्याप्त दलहरूबाट आजित भएर स्वतन्त्र उमेदवारलाई ’टेस्ट’ गरेका जनताहरू तत्काल परिणाम चाहन्छन् । यस किसिमको जनमानसले पनि मेयर साम्पाङलाई सफल वा असफल बनाउने भन्ने अर्थ राख्छ । अहिले जति पनि धरानेहरू मेयर साम्पाङको ससाना अभियानहरूमा जनश्रमदानदेखि नैतिक समर्थन गरिरहेका छन,् भोलिसम्म पनि उनीहरूले यसरी नै साथ देलान् या खानेपानीदेखि अन्य धरानको मूख्य आवश्यकताहरूको सन्दर्भमा मेयर साम्पाङसँग परिणाम खोज्लान् ? त्यो समयले बताउनेछ ।





























प्रतिक्रिया