विकासप्रेमी नेताको परिचय बनाएका पूर्वमन्त्री लावतीको आज छैटौँ स्मृति दिवस

विकासप्रेमी नेताको परिचय बनाएका पूर्वमन्त्री लावतीको आज छैटौँ स्मृति दिवस


विकासप्रेमी नेताको परिचय बनाएका पूर्वमन्त्री  पद्मसुन्दर लावतीको छैटौँ स्मृति दिवस आज मनाइँदैछ। लावतीको ७६ वर्षका उमेरमा विसं २०७२ जेठ २७ गते काठमाडौँमा निधन भएको थियो ।

मिर्गौलासम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका उनको काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 

उनको निधनपछि वर्षेनी स्मृतिका कार्यक्रम आयोजना हुँदै आएकामा यस वर्ष कोभिड–१९ सङ्क्रमणको महामारीका कारण ठूला कार्यक्रम आयोजना गरिएका छैनन्। विकासनिर्माणका क्षेत्रमा जिल्लाका लागि निकै ठूलो योगदान दिएकाले जिल्लावासीले उनलाई सधैँ स्मरण गर्ने गरेका छन् ।

लावतीको जन्म विसं १९९६ मा पाकिस्तानको बालुचिस्तान प्रान्तको क्वेटामा भएको थियो । उनका मावली बाजे (हजुरबुवा) मेजर कमानसिंह थाङ्देन गोर्खा पल्टनमा कार्यरत हुँदा तत्कालीन बेलायती साम्राज्यको अधिनस्थ क्वेटामा उनको जन्म भएको थियो। उनको बाल्यकाल मावली घर तेह्रथुमको पाउँदिनमा बितेको थियो । लावतीले त्यहाँ प्रारम्भिक शिक्षाको शुरुआत गरेका थिए। किशोरावस्थामा प्रवेशपछि लावती आफ्नो घर यासोकको भदौरे आएका थिए।

स्व. लावतीद्वारा लिखित जीवनकथा ‘मेरो देश मेरो परिवेश’ मा उल्लेख भएअनुसार उनले केही समय हुलाकीको काम पनि गरे। सामाजिक सम्बन्ध बनेपछि उनी राजनीतिमा प्रवेश गरेका थिए। उनी  विसं २०१९ मा युवक सङ्गठनको राजनीतिमा प्रवेश गरी अञ्चल सभापति भएका थिए । विसं २०२३ मा यासोक गाउँ पञ्चायतको प्रधानपञ्च, विसं २०२४ मा जिल्ला पञ्चायतको सदस्य, २०२९ मा राष्ट्रिय पञ्चायत सदस्य र उद्योग वाणिज्य राज्यमन्त्री भएपछि लावतीको राजनीतिक यात्राले उचाइ लियो । पटक–पटक गरेर २५ वर्ष लावतीले यहाँबाट राष्ट्रिय पञ्चायत तथा प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका थिए। उनी १२ पटक मन्त्री बनेका थिए। एकपटक उनी गृहमन्त्रीसमेत बने।

लावतीको जीवनको उत्तराद्र्ध निकै उथलपुथलपूर्ण रह्यो । पञ्चायतकालदेखि नै पूर्वप्रधानमन्त्री स्व सूर्यबहादुर थापासँग उनको मतभेद थियो । पञ्चायत पृष्ठभूमिका नेता लोकन्द्रबहादुर चन्द, राजेश्वर देवकोटा, डा प्रकाशचन्द्र लोहनी र पशुपतिशम्शेर राणासँग उनको राम्रै सम्बन्ध रहेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा मुख्यतः रवीन्द्रनाथ शर्मा र कमल थापासँग उनको घनिष्ठ राजनीतिक सहयात्रा रहेको पाइन्छ । राप्रपा नेपाल समानान्तरसमेत बनाई नेतृत्व गरेका लावती सधैँ संवैधानिक राजतन्त्रप्रतिको वैचारिक अडान रहेका कारण प्रजातन्त्र पुनःस्थापनापछि भने विसं २०५१ को मध्यावधि निर्वाचनमा मात्रै पाँचथर क्षेत्र नं २ बाट प्रतिनिधिसभामा विजयी भए ।

लावतीकै पहलमा मेची अञ्चलका जिल्ला जोड्ने मेची राजमार्ग निर्माण, फिदिमबाट यासोकसम्म विद्युतीकरण भएको थियो । उनी स्वास्थ्यमन्त्री छँदा झापाको भद्रपुरमा २५ शय्याको अस्पताल स्थापनासँगै अस्पतालका लागि पाँच बिघा जमिन खरिद, फिदिममा १५ शय्याको अस्पताल स्थापना र ५० रोपनी जग्गा खरिद, तेह्रथुममा १५ शय्याको अस्पताल स्थापना, ताप्लेजुङ, गुल्मी, भैरहवा, अर्घाखाँची, मनाङ, मुस्ताङ र चैनपुरमा अस्पताल स्थापनासँगै वीर अस्पतालको समेत स्तरोन्नति भएको उनको जीवनकथामा उल्लेख छ । 

लावतीले जिल्लामा कारागार, प्रहरी, नेपाली सेना, कृषि, जिल्ला विकास समिति, प्रशासन, अदालतलगायत निकायलाई प्रशस्तै जग्गाको प्रबन्ध गरेका थिए भने पाँचथर बहुमुखी क्याम्पससहित गाउँ–गाउँमा विद्यालय, दूरसञ्चार, स्वास्थ्य संस्थाको स्थापनामा उनले महत्वपूर्ण पहल गरेका थिए।

पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनलाई सहयोग गरेका लावतीले प्रधानमन्त्री बन्ने चाहना राखेका थिए । दरबारले उनलाई जिम्मेवारी नदिएपछि लावतीले ‘राजाले मलाई पत्याएनन्’ भन्ने गुनासो गरेका चर्चा हुने गरेको थियो । लावतीका दुई छोरी र तीन छोरा छन् । उनको स्मृतिमा फिदिम र यासोक बजारमा शालिक निर्माण गरिएका छन् ।रासस

Logo