लाहोर । पाकिस्तानको सियालकोटमा १००० वर्ष पुरानो हिन्दू मन्दिर ८२ वर्षपछि पहिलोपटक पूजाका लागि खोलिएको छ । अधिकारीहरूले बताएअनुसार स्थानीय व्यक्तिहरूले माग गरेपछि यसलार्ई खोलिएको हो ।
दिवंगत लेखक राशिद नियाजद्वारा लेखिएको ‘हिस्ट्री अफ सियालकोट’का अनुसार यो मन्दिर १००० वर्ष पुरानो छ, लाहोरबाट १०० किलोमिटर टाढा धारोवाल क्षेत्रमा पर्ने यो मन्दिरको नाम शवाला तेजा सिंह मन्दिर हो ।
पाकिस्तानमा अल्पसंख्यकहरूको पवित्र स्थलहरूको रेखदेख गर्ने इवेक्यु ट्रस्ट प्रोपर्टी बोर्डले हिन्दू समुदायको मागअनुसार ८२ वर्षपछि पहिलोपटक मन्दिर खोलेको हो ।
बोर्डका एक अधिकारीले बताएअनुसार पहिले यस क्षेत्रमा हिन्दू धर्मावलम्बीहरू नबसेका कारण यो मन्दिर बन्द थियो । सन् १९९२ मा भारतमा बाबरी मस्जिद विध्वंसपछि यो मन्दिरमा हमला भएको थियो र मन्दिरमा आंशिक क्षति पुगेको थियो ।
पाकिस्तानमा हिन्दू समुदाय सबैभन्दा ठूलो अल्पसंख्यक समुदाय हो । आधिकारिक तथ्यांकअनुसार पाकिस्तानमा करिब ७५ लाख हिन्दू छन् । यद्यपि हिन्दू समुदायका भनाइअनुसार पाकिस्तानमा ९० लाखभन्दा बढी हिन्दू छन् । एजेन्सी