निर्मला प्रकरणमा पत्रकार खेम भण्डारीले किन मागे माफी ?
तस्बिरः पत्रकार खेम भण्डारीको फेसबुकबाट

काठमाडौं । चर्चित निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका कञ्चनपुरका पत्रकार खेम भण्डारीले माफी मागेका छन् । आफुबाट दुइटा गल्ती भएको भन्दै भण्डारीले सामाजिक सञ्जाल मार्फत माफी मागेका हुन् ।

उनले अम्बाको रूखको जडखोदन गरिएको खेल्नु र दिलिप सिंह विष्टको भिडियो कुनै रेडियोको स्टुडियोमा बनाइएको भन्नु आफ्नो तर्फबाट गल्ती भएको भन्दै माफी मागेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘निर्मला प्रकरणमा मबाट दुइटा मात्रै गल्ती भएका छन् । पहिलो, अम्बाको रूखको जडखोदन भनेर लेख्नु । दोस्रो दिलिप विष्टको भिडियो कुनै रेडियोको स्टुडियोमा बनाइएको भन्नू । माफी चाहन्छु ।’

२०७५ साउन १० गते साथी रोशनी बमको घरमा गएकी निर्मलाको साउन ११ गते उखुबारीमा शव फेला परेको थियो । उक्त घटनालाई निकै नजिकबाट नियालिरहेका पत्रकार भण्डारीविरूद्ध जिल्ला अदालतमा चार वटा मुद्दा समेत परेका छन् ।

उक्त घटनालाई पत्रकार भण्डारीले नै नयाँ मोडमा पुर्‍याएका थिए । सुरूमा आन्दोलन गर्नेदेखि लिएर तत्कालिन प्रहरीका अनुसन्धान अधिकारीहरूलाई कारवाही गराउने सम्ममा उनकै हात थियो ।

सामाजिक सञ्जाल मार्फत उनले निर्मला हत्यारा कुनै सामान्य व्यक्ति नभई भिआईपी भएको दाबी गर्दै आएका छन् । उनले ‘निर्मलाका भिआइपी हत्यारा केही समयमै सार्वजनिक गर्छु’ भन्दै घोषणा गरेका थिए । तर अहिलेसम्म को हुन भिआइपी हत्यारा भन्नेबारे कुनै प्रक्रिया जनाउन सकेका छैनन् । तिनै पत्रकार भण्डारीले तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी (हाल सेवाबाट हटाइएका) दिल्लीराज विष्टका छोरा र मेयरका भतिजले निर्मलाको बलात्कारपछि हत्या गरेको भन्दै प्रहरी प्रशासनको ध्यान त्यसतर्फ मोडेका थिए ।

प्रहरीले उनीहरूको पनि डिएनए परीक्षण गरेको थियो । पत्रकार भण्डारीको इशारामा स्वयं एसपी विष्टको पनि डिएनए परीक्षण गरिएको थियो । उनको बारेमा काठमाडौंमा एक नीजि टेलिभिजनले रिपोर्ट नै प्रशारण गरेको थियो । त्यसपछि उनी कार्यक्रममै लाइभ आउने भन्दै काठमाडौं आएका छन् । सञ्चारकर्मी रवि लामिछानेले सञ्चालन गर्दै आएको कार्यक्रम सिधा कुरा जनतासँगमा निर्मला प्रकरणबारे आफ्ना कुरा राख्न पत्रकार भण्डारी काठमाडौं आएका हुन् ।

काठमाडौं आउने क्रममा पत्रकार भण्डारीले निर्मला प्रकरणको भण्डाफोर सुरु भएको बताएका थिए । सोमबार महेन्द्रनगरमा आयोजना गरिएको एक कार्यक्रममा पत्रकार भण्डारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा निर्मला प्रकरणको भण्डाफोर सुरु भएको बताएका हुन। निर्मला प्रकरणमा हाम्रो आवाजलाई दबाउने प्रयास गरिएको र उनलाई न्याय दिन कन्ज्युसाईँ गरिएको भन्दै भण्डाफोर अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सुरु भएको पत्रकार भण्डारीको प्रतिक्रिया थियो ।