रेडक्रसको राहत चोर्ने ४ जना पक्राउ

फाइल तस्बिर ।

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले रेडक्रसले वितरणका लागि राखेको राहत सामग्री चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ । नेपाल रेडक्रस सोसाइटी गोरखाको कार्यालयमा वितरणका लागि राखिएको सामग्री चोरी गर्नेलाई बुधबार पक्राउ गरेको गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका–९ टक्सार बस्ने जितेन्द्र माझी, राजकुमार माझी, सुरेश माझी र सियाराम माझी रहेकोे बताए । पक्राउ परेकाहरुको कोठाबाट चोरी गरिएको सामग्रीसमेत बरामद गरिएको प्रनाउ नेपालको भनाई छ ।

गएको असार २६ गते रेडक्रसले वितरण गर्न राखेको कम्मल, त्रिपाल, ब्ल्याङकेट, रेनकोट, स्लिपिङब्यागलगायतका करीब रु दुई लाख ५० हजार बराबरको सामग्री कार्यालयबाटै चोरी भएको थियो । पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । रासस

रेडक्रसको राहत चोर्ने ४ जना पक्राउ