मोरङ क्षेत्र नं. १ मा कांग्रेसका रामप्रसाद पोखरेलको बलियो दाबेदारी

मोरङ क्षेत्र नं. १ मा कांग्रेसका रामप्रसाद पोखरेलको बलियो दाबेदारी


मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा दलहरू अहिले उम्मेदवारको सिफारिस गरिरहेका छन् ।

यसैबीच मोरङको क्षेत्र नं. १ मा यसपटक नेपाली कांग्रेसबाट रामप्रसाद पोखरेलको दाबेदारी बलियो रहेको छ । यसअघि ०७४ को निर्वाचनमा जिल्ला सभापति समेत रहेका डिकबहादुर लिम्बू पराजित भएका थिए । उनी जिल्ला सभापति हुन् । यसपटक पनि लिम्बूसहित पोखरेल, आरती बराल र जयधर्म आचार्यको नाम सिफारिसमा परेको छ ।

उत्तरी मोरङमा मात्र होइन मोरङ जिल्लामा नै प्रखर वक्ताको रूपमा परिचित स्नातकोत्तर क्याम्पसका प्राध्यापक रामप्रसाद पोखरेलले २०४६ सालको प्रजातन्त्रको पुनःस्थापना भएसँगै आफ्नै विद्यालय जाँते मावि जाँतेबाट नेविसंघ स्कुल एकाई समितिको सभापतिबाट आफ्नो राजनीतिक जीवन प्रारम्भ गरे ।

एकाई सभापति, साविक जनता क्याम्पस विराटनगरका नेविसंघ क्याम्पस एकाई सचिव, तत्कालिन सोही क्याम्पसको स्ववियू सचिवमा निर्वाचित हुँदै नेपाली कांग्रेसको क्रियाशिल सदस्यता सानै उमेरमा प्राप्त गरी हालसम्म निरन्तर सर्वसम्मत रूपमा क्षेत्रीय प्रतिनिधि रहँदै आएका छन् ।

प्राध्यापक पेशामा रहेका उनी कांग्रेस जिल्ला सदस्य हुँदै महाधिवेशन प्रतिनिधि समेत भइसकेका छन् । राजनीति गर्ने मानिसहरू शिक्षित हुनुपर्छ भन्ने सन्देश दिनका लागि उनले समाजशास्त्रमा स्नातकोत्तर, कानूनमा स्नातक तह उत्तीर्ण गरी अधिवक्ताको रूपमा, र स्वास्थ्य विषयमा समेत स्नातक उत्तीर्ण गरेका छन् ।

आफूले टिकट पाएको अवस्थामा उनले युवाहरूलाई रोजगारका सृजनासँगै आम मानिसको मन जित्नका लागि सकारात्मक काम गर्ने तर्क गरे । स्पष्ट वक्ता, मिलनसार र सहयोगी भावनाका धनी उनी राजनीतिमा नयाँ उत्साहले आएको बताए । ‘नयाँ उत्साहका साथ राजनीति गर्ने सोचमा छु,’ उनले भने, ‘मेरो उम्मेदवारीले आम मतदातामा पनि उत्साह छाएको छ ।’

उनले आफू नयाँ उत्साहले अगाडि बढिरहँदा यसपटक पार्टीले विश्वास गरेर टिकट दिने आशा गरे । ‘युवा भएका कारण मात्रै होइन, सबैसँग उत्तिकै सम्बन्ध र समुचित विकासको निश्चित योजना म सँग भएका कारण यसपटक मेरो दाबेदारी स्वभाविक हो,’ उनले भने, ‘पार्टीबाट टिकट पाएको अवस्थामा यसपटक यो क्षेत्रमा कांग्रेसले जित्नेछ र एउटा मोडल तयार पारेर दिगो तथा परिणमामुखी विकासको लागि लागि पर्न कटिबद्व हुनेछु ।’

उनले यहाँका मतदाताले पनि आफूलाई रुचाएको दाबी गर्दै भने, ‘पार्टीभित्र मात्रै होइन, विपक्षीहरूसँग पनि घनिष्ट सम्बन्ध भएका कारण यसपटक मैले टिकट पाउँदा चुनाव जित्न सहज हुन्छ ।’

Logo